Breaking News

राष्ट्र निर्माणलाई अगाडी बढाउने र मुलुकमा देखा परेका समस्यालाई हल गर्न समाजवादी मोर्चा

सोमबार समाजवादी मोर्चाको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले अहिले प्रतिगामीहरुले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई विगतका आन्दोलन संघर्ष र बलिदानको उपलब्धिलाई समाप्त पार्ने खेल खेलिरहेको बताउँदै समाजवादी मोर्चा त्यसका विरुद्धमा उभिने बताएका हुन् ।

अध्यक्ष यादवले भने, ‘प्रतिगमनकारी शक्तिहरु जसले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई विगतका आन्दोलन संघर्ष र बलिदानको उपलब्धिलाई समाप्त पार्ने खेल खेलेका छन्’, उनले भने, ‘निश्चित रुपमा तीनको विरुद्धमा यो मोर्चा हुनेछ । आवश्यक परे संघर्ष पनि गर्नेछ ।’

यस्तै अध्यक्ष यायदवले समाजवादी मोर्चा कसैको विरुद्धमा लक्षित नभएको बताए । यो मोर्चाले गर्दा कसैलाई तर्सिन जरुरी नभएको बताउँदै आफूहरु देशको जनताको हितका लागि सहकार्य परस्पर सहयोगका आधारमा अगाडी बढ्ने बताए ।

‘यो मोर्चाले गर्दा कसैलाई तर्सिन जरुरी छैन । हामी परिवर्तनका मुद्धालाई अगाडी बढाउने, राष्ट्र निर्माणलाई अगाडी बढाउने र मुलुकमा देखा परेका समस्यालाई हल गर्दै अगाडी बढ्न चाहन्छौँ’, अध्यक्ष यादवले भने, ‘यो कसैको विरुद्धमा लक्षित छैन । त्यसकारणले कोहि नतर्सिए हुन्छ यो मोर्चादेखि । धेरै मान्छेहरुले अहिले नै केहि साथीहरु घोषणा हुन अगाडी नै बरबराउनु थाल्नु भएको थियो । मिडियाहरुमा बरबराएको देखे । त्यस्तो नबरबराए हुन्छ । हामी देशको जनताको हितका लागि सहकार्य परस्पर सहयोगका आधारमा अगाडी बढ्छौँ ।

अध्यक्ष यादवले शासन प्रणाली बदलिएपनि शासनशैली पुरानै मानसिकताबाट चलेको बताए । राजनीतिक रुपमा शासन प्रणाली बदलिएपनि शासन गर्ने शैली पुरानै रहेको र प्रतिगमनकारी शक्तिहरु प्राप्त उपलब्धिलाई अगाडि बढाउन नदिन लागिरहेको उनको भनाई छ ।

उनले मोर्चा निर्माणको उद्देश्यबारे जानकारी दिँदै भने, ‘चारवटा पार्टीका भिन्नाभिन्नै धारणा र सिद्धान्त हुँदाहुँदै पनि राष्ट्रको हित र परिवर्तनका लागि साझा मुद्दाहरूमा सहमत भएर अवधारणा पत्र सुनाइयो त्यसमा सहमत भएर समाजवादी मोर्चा गठन भएको छ ।’

विगतमा जनआन्दोलन, जनयुद्ध, मधेस जनविद्रोहलगायतका विभिन्न आन्दोलनको परिणामअनुसार नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र हुन हुन पुगेपनि जनताले त्यो परिवर्तनको अनुभूति गर्न नपाएको उनको भनाई छ । ‘शासन प्रणाली बदलिएपनि शासनशैली पुरानै मानसिकताबाट चलेका छन्’, अध्यक्ष यादवले भने, ‘लोकतन्त्रको संस्थागत, संघीयता, गणतन्त्र मौलिक हक जस्ता अधिकार प्राप्त भएपनि प्रतिगमनकारी शक्तिबाट धरापमा पार्ने र समाप्त पार्ने र पुरानै व्यवस्थामा फर्कने प्रयासलाई असफल पार्दै उपलब्धिलाई रक्षा गर्दै थप उपलब्धि हासिल गर्न मोर्चा अग्रसर हुनेछ ।’ उनले त्यसका लागि मोर्चाले संसद् र सडक संघर्ष गर्ने समेत बताए । नागरिकता समस्यामा प्रतिगामी शक्तिहरूले चलखेल गरिरहेको भन्दै आगामी दिनमा संघर्ष गर्नुपर्ने अवस्था समेत आउन सक्ने अध्यक्ष यादवको भनाई छ ।

अध्यक्ष उपेन्द्र यादव