काठमाडौँ । फिल्म ‘गणपति’को छायांकन सेटमा आगलागी भएको छ । बालाजुस्थित चलचित्र विकास संस्थानको ल्याबमा अभिनेत्री वर्षा सिवाकोटीसहित एक सय जना कोरसले नृत्य गरिरहेको सेटमा लोमान बालेर धुवाँ निकाल्ने क्रममा आगलागी भएको हो ।
कविराज गहतराजले नृत्य कोरियोग्राफी गरिरहेका थिए । आगो नियन्त्रणमा आइसकेको भए पनि सेट भने पूर्ण रुपमा जलेर नष्ट भएको छ ।
आगलागीबाट मानवीय क्षति भएको छैन । तर, सेट जलेर नष्ट हुँदा १० लाख बराबर क्षति भएको बताइएको छ। आगलागीपश्चात् गीतको छायांकन रोकिएको छ । फिल्मको सम्पूर्ण छायांकन भइसके पनि एक गीत खिच्न बाँकी थियो, जुन छायांकन गर्न थालिएको थियो ।
सविन अधिकारीको लेखन तथा निर्देशन रहेको फिल्ममा कविता न्यौपाने, सूर्यमाला खनाल, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, स्व. जयनन्द लामा, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु, शुशील पोखरेललगायतको पनि अभिनय छ । फिल्मको प्रस्तुतकर्तामा रामप्रसाद रिजाल, निर्मातामा लक्ष्मण रिजाल र कार्यकारी निर्मातामा विज्ञान केसी र अरविन्द्र गिरी छन् ।