तत्काल नेपाली भूमिबाट भारतीय सेना हटाउन निर्देशन

३० वैशाख, काठमाडौं । आज मंगलबार बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भारतले कालापानीमा रहेका भारतीय सुरक्षाकर्मीलाई यथाशीघ्र हटाउन सरकारलाई निर्देशन दिएको छ ।

समितिले आइतबार र सोमबार परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवाली र भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालसँग छलफल गरेको थियो ।
’भारतद्वारा अतिक्रमित भूमिबाट भारतीय सुरक्षाकर्मीलाई यथाशीघ्र हटाउन’, लिम्पियाधुरा, लिपुलेकलगायत कालापानी क्षेत्रमा नेपालको सुरक्षा र प्रशासनिक उपस्थिति कायम गर्न उच्च तहबाट राजनीतिक, कूटनीतिक र अन्य आवश्यक कार्य गर्न’ समितिले सरकारलाई निर्देशन दिएको हो ।
समितिले नेपाली भूमिमा अतिक्रमण गरी भारतले सडक निर्माण गर्नु अन्तर्राष्ट्रिय कानुनविपरीत भएको जनाएको छ ।

त्यस्तै, सरकारलाई तत्कालै अतिक्रमित नेपाली भू(भागलाई समेटेर नेपालको नक्सा अवलम्ब प्रकाशित गर्न समेत निर्देशन दिएको छ । समिति बैठकमा अधिकांश सांसदहरूले नेपालले नक्सा प्रकाशित नगरेकोमा आपत्ति जनाएका थिए ।
समितिले यसअघि नै नक्सा प्रकाशनदेखि सीमामा डुबान हुने गरी भारतले निर्माण गरेको भौतिक संरचना निर्माण रोक्न दिएको निर्देशन अनुसार काम नभएको उल्लेख गर्दै पुनस् सरकारको ध्यानाकर्षण गराएको छ ।
साथै भारतसँगको सीमा नियमन र व्यवस्थित गर्न निर्देशन दिएको छ ।
समिति बैठकमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भारतसँगको सीमा नियमन गर्न आवश्यक परे काँडेतार र पर्खाल लगाउन समेत सुझाएका थिए ।