Breaking News

म्यानचेस्टर सिटीले अद्भूत खेल देखायो, महत्वपूर्ण तीन उपाधि जित्दै इतिहास रच्यो

यो सिजन इंग्लिस क्लब म्यानचेस्टर सिटीले अद्भूत खेल देखायो। महत्वपूर्ण तीन उपाधि जित्दै इतिहास रच्यो।

शनिबार युरोपियन च्याम्पियन्स लिगको फाइनलमा इटालियन क्लब इन्टर मिलानलाई १-० गोलले हराएर सिटीले पहिलो च्याम्पियन्स लिगको उपाधि जित्यो।

उसले ट्रबेल समेत गर्न सफल भयो। सिटी घरेलु इंग्लिस प्रिमियर लिग, घरेलु एफए कप र युरोपियन च्याम्पियन्स लिग जितेर ट्रेबल गर्ने आठौं युरोपियन क्लब हो भने दोस्रो इंग्लिस क्लब।

सन् १९९८-९९ मा शहरी प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडले ट्रेबल गरेको थियो।

यस सिजनको प्रिमियर लिग जित्दा सिटीले हडर्सफिल्ड टाउन, आर्सनल, लिभरपुल र म्यानचेस्टर युनाइटेड (दुई पटक) ले हासिल गरेको उपलब्धिलाई बराबरीमा गर्दै उपाधिको ह्याट्रिक गर्‍यो। यस्तै  सिटी च्याम्पियन्स लिग जित्ने छैटौं इंग्लिस क्लब बन्यो।

सन् २००८ मा युएईको कम्पनीले सिटीमा लगानी गरेपछि क्लबले विस्तारै लय समाउन थालेको थियो।

सिटीले १३औं प्रयासमा युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको हो। २०११-१२ मा युरोपियन प्रतियोगिता च्याम्पियन्स लिगमा फर्केको सिटीले तीन क्वार्टरफाइनल, दुई सेमिफाइनल र एउटा फाइनल (जसमा चेल्सीसँग १-० ले पराजित) मा पुगेर पराजय भोगेको थियो।

यो सिजन उपाधि जित्ने क्रममा सिटीले १३ खेलमा ८ जित र पाँच बराबरीको कीर्तिमान राख्दै एकमात्र अपराजित टोली बन्यो।

सिटी च्याम्पियन्स लिगमा ३२ गोल गर्दा ५ गोल मात्र खायो। सबैभन्दा प्रभावशाली जित अन्तिम १६ को दोस्रो लेगमा जर्मन क्लब आरबी लाइपजिगविरुद्ध थियो। सो खेलमा सिटी ७-० ले विजयी भयो। सिटीविरुद्ध सिजनमा कुनै पनि टोलीले एउटै खेलमा एकभन्दा बढी गोल गर्न सकेनन्।

शनिबारको फाइनल सिटीको लागि २०२२-२३ सिजनको ६०औं प्रतिस्पर्धात्मक खेल थियो। तीन उपाधिका साथ सिजनमा सिटी ४४ खेलमा विजयी भयो। समग्र सिजनमा सिटी १० खेलमा बराबरीमा रोकिदा ६ खेलमा पराजित भयो। ]

यस सिजन सिटीसँग खेल्ने गर्ने एउटा मात्र विपक्षी अपराजित रह्यो र त्यो हो ब्रेन्टफोर्ड। सिजनको प्रिमियर लिगको दुवै लेगमा सिटीलाई ब्रेन्टफोर्डले पराजित गर्‍यो।

कुल मिलाएर सिटीले यस सिजनका सबै प्रतियोगिताहरूमा १५० गोल गर्‍यो, जुन युरोपका शीर्ष पाँच लिगको कुनै पनि टोलीभन्दा धेरै हो। ‍सिटीले यो सिजन इतिहाद स्टेडियममा १०० गोल समेत पूरा गर्‍यो।

सिटीको यो सिजनको सफलतामा प्रतिभाशाली खेलाडीको हात छ।

गोलकिपर इडरसनसहित डिफेन्डर रूबेन डायसले विपक्षीका डरलाग्दा आक्रमण विपल पारे। रोड्रिले ट्याकल र केभिन डे ब्रुएनले मौकाहरू सिर्जना गरे। ब्रुएनले सबै प्रतियोगितामा गरी कुल २८ असिस्ट गरे।

२०२२-२३ सिजनमा ३६ गोलका साथ एर्लिङ हालान्डले एउटै प्रिमियर लिग सिजनमा सबैभन्दा धेरै गोल गर्ने नयाँ रेकर्ड बनाए। सबै प्रतियोगितामा उनको ५२ गोल प्रिमियर लिग खेल्ने खेलाडीको सर्वाधिक गोल हो।

यस सिजन हालान्डले प्रिमियर लिगमा छिटो १० गोल (६ खेल), छिटो १५ गोल (९ खेल), छिटो २० गोल (१४ खेल), छिटो २५ गोल (१९ खेल) र छिटो ३० गोल (२७ खेल) को कीर्तिमान बनाए।

उनले सबै प्रतियोगितामा गरी छ वटा ह्याट्रिक गरे, जुन एकै सिजनमा प्रिमियर लिगका खेलाडीद्वारा सबैभन्दा धेरै ह्याट्रिक हो।

हालान्डले च्याम्पियन्स लिगमा पनि आफ्नो उल्लेखनीय गोल गर्ने उपलब्धि जारी राख्दै १२ गोल गरे। प्रतियोगितामा उनको मिनेट-प्रति-गोल अनुपात हरेक ६३ मिनेटमा एक गोलमा छ। यो कीर्तिमान कम्तिमा पाँच गोल गर्ने कुनै पनि खेलाडीको भन्दा उत्कृष्ट हो।

यस सिजन सिटीको सफलतामा अर्का उल्लेखनीय खेलाडी ज्याक ग्रेलिस हुन्। एस्टन भिल्लाबाट १०० मिलियन पाउन्डमा सिटीमा आबद्ध भएपछि पहिलो सिजन संघर्ष गरेका उनी दोस्रो सिजन उत्कृष्ट लयमा रहे।  उनले यस सिजनको च्याम्पियन्स लिगमा सिटीका लागि ३५ मौकाहरू सिर्जना गरेका थिए।

बिबिसीसहित विभिन्न एजेन्सीको सहयोगमा