समाजवादी प्रेस संगठन नेपालको प्रथम राष्ट्रिय महाधिवेशन भोलिबाट काठमाण्डौमा सुरु

काठमाडौ । नेकपा एकीकृत (समाजवादी) को भातृ संगठन समाजवादी प्रेस संगठन नेपालको प्रथम राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको जानकारी प्राप्त भएको छ । भोलि जेठ २६ गते शुक्रबारबाट काठमाडौंको बानेश्वरस्थित अर्पण ब्यांकेटमा संगठनको प्रथम राष्ट्रिय महाधिवेशन सुरु हुँदैछ । प्रथम राष्ट्रिय महाधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भएको संगठनका महासचिव भूपराज खड्काले जानकारी दिनुभएको छ ।

महाधिवेशनको उद्घाटन सत्रमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र समापनमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

यस महाधिवेशनमा देशभरीका ६५ जिल्लाका ४ सय बढी प्रतिनिधिको सहभागिता हुने संगठनका अध्यक्ष शम्भु श्रेष्ठले जानकारी दिनुभएको छ । उनीहरुलाई सुन्धारामा रहेका होटेलहरुमा खान र बस्नेका लागि व्यवस्था गरिएको छ ।

अध्यक्ष श्रेष्ठको संयोजकत्वमा मूल व्यवस्थापन समिति, महासचिव भूपराज खड्काको संयोजकत्वमा प्रतिवेदन लेखन समिति, कोषाध्यक्ष कृष्णराज गौतमको संयोजकत्वमा आर्थिक प्रबन्ध समिति र उपाध्यक्ष भवानी कार्कीको संयोजकत्व अतिथि सत्कार समितिले महाधिवेशनका लागि तयारी गर्ने काम गरेको हो । यस महाधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्वको लागि धेरै जनाको हातथाप भए पनि खासमा अध्यक्षमा कसको बलियो सम्भावना छ भन्ने एकिन गर्न सकिएको छैन ।