प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आफूलाई टर्चर दिएको भन्दै एक जना महिला पत्रकारले उजुरी दिइन

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आफूलाई टर्चर दिएको भन्दै एक जना महिला पत्रकारले उजुरी दिएकी छन्।

काठमाडौंबाट सञ्चालित एक अनलाइनमा कार्यरत ती पत्रकारले फेसबुक म्यासेन्जरबाट मध्यरातमा कल र म्यासेज गरी साइबर अपराध गरेको भन्दै बस्नेतविरूद्ध प्रहरीको साइबर ब्युरोमा गत शुक्रबार उजुरी दिएकी हुन्।

उक्त उजुरीपछि बस्नेतले आफ्ना परिवार र कार्यरत स‌ंस्थाका प्रमुखलाई फोन गरी उजुरी फिर्ता लिन दबाब दिएको भन्‍दै आइतबार उनले फेरि सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा निवेदन दिएकी हुन्।

मन्त्रालयमा दिएको निवेदनमा बस्नेतका क्रियाकलापबाट आफू असुरक्षित भएको उल्लेख गर्दै सुरक्षा माग गरेकी छन्।

साइबर ब्युरोमा दिएको उजुरीमा भनिएको छ, ‘बालकृष्ण बस्नेत नामक फेसबुक आइडीले जेठ १५ गते मध्यराति मेसेन्जरमार्फत भेट गर्ने प्रस्ताव राख्ने, अडिओ कल गर्ने, साथै पटकपटक एसएमएस गरी रातको समयमा टर्चरसमेत गर्ने गरेकाले सो व्यक्तिलाई कारबाही गरी पाउँ।’

बस्नेतलाई साइबर अपराधअन्तर्गत कारबाही गर्नुपर्ने उनले माग गरेकी छन्।

साइबर ब्युरोका प्रवक्ता एसपी पशुपतिकुमार रायका अनुसार उजुरीमाथि अनुसन्धान भइरहेको छ।

‘अस्ति एक जनाले बस्नेतविरूद्ध निवेदन दिनुभएको छ। हामी त्यसबारे हेर्दैछौं,’ उनले भने।

उजुरीबारे हामीले काउन्सिलका अध्यक्ष बस्नेतसँग पनि सोध्यौं। उनले आफ्नो फेसबुक ह्याक भएको दाबी गरे।

‘करिब-करिब सेलाइसकेको विषय, अनुसन्धानबाट पनि केही देखिएको थिएन। वेटलेस कुरा हो भन्ने भइसकेको कुरा अहिले फेरि आएर म साइबर आक्रमणको सिकार भइसकेँ। राज्यको सम्बन्धित ठाउँमा भन्नुपर्ने भनिसकेको छु। कसैसँग पैसा नमागेको कसैलाई बल गरेको छैन भनेको छु त। अनावश्यक टर्चर दिने राम्रो होइन नी,’ उनले सेतोपाटीसँग भने।

यस्तै उनले ह्याक भएको आफ्नो खाताबाट कतिपयसँग पैसा समेत मागिएको ्दाबी गरे।

‘मेरो आफ्‍नै फेसबुकमा समस्या भएर त्यस्तो भएको हो। भोलिपल्ट मैले थाहा पाएर यस्तो भएको हो भनेर जानकारी गराइसकेको छु,’ उनले भने, ‘पैसा मागिएको रहेछ। पछि मलाई स्क्रिनसटहरू आए। ५-७ हजार पैसा माग गरिएको रहेछ। उहाँलाई पनि कहिले ५ कहिले, ७ हजार मागिएको रहेछ। तर बाहिर आएको छैन।’

आफ्नो फेसबुक खाता कहिले ह्याक भएको हो र कहिले फिर्ता पाएको हो भन्नेबारे प्रष्टसँग बताएनन्।

‘यो विषयमा भेटेरै कुरा गरौं न भोलि,’ उनले भने।

पीडितले सामाजिक सञ्जालमार्फत सुरूमा कल आउँदा फेसबुक आइडी ह्याक भयो कि भन्ने सोचेको तर कुराकानी गर्दा बस्नेत नै हो भन्नेमा विश्वस्त भएको बताएकी थिइन्।

‘हिजो एक्कासी तपाईंको फेसबुक आइडीबाट म्यासेज अनि कल आउँदा सुरूमा आइडी ह्याक भयो कि? भन्ने सोचेकी थिएँ। तर अडिओमा तीन मिनेट कुरा भएपछि प्रष्ट भयो तपाईंको फेसबुक आइडी अरू कसैले चलाएको छैन। किनकी कलमा तपाईं आफैं बोल्दै हुनुहुन्थ्यो। त्यसैले अब आइडी ह्याक भएको नाटक मञ्चन चाहि नगर्नुहोला,’ पीडितले भनेकी छन्।

सेतोपाटीबाट