सभापति शेरबहादुर देउवाले पार्टी हित विपरीतका गरेका निर्णय अब सहेर बस्न नसक्ने

महामन्त्री गगनकुमार थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवाले पार्टी हित विपरीतका गरेका निर्णय अब सहेर बस्न नसक्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित नेपाल प्रेस युनियन उपत्यका प्रतिष्ठानको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले रेशम चौधरीलगायतको आममाफी, नागरिकता विधेयक र सांसद विकास कोषजस्ता अलोकप्रिय विषयमा सभापति एक्लैले निर्णय गरेको आरोप लगाए । उनले अब यस्तो सभापति देउवाको एकलौटी निर्णय नबस्ने बताए ।

यस्तै, निर्णयले कांग्रेसले भोट पाएपनि विश्वास गुमाएको बताउँदै महामन्त्री थापाले भने, ‘कांग्रेसलाई बदल्ने हो । कांग्रेसलाई नबदलीकन जस्ताको तस्तै राखेर विश्वास फर्किँदैन ।’

उनले कांग्रेस संलग्न भएको सरकारले हालै गम्भीर र जनचासोको निर्णयहरू गरेको बताउँदै भने, ‘आममाफी, नागरिकता र सांसद विकास कोषजस्ता कैयौँ विषयका सन्दर्भमा पार्टी सभापति एक्लैले गरेको हो ।’ ती निर्णयहरू गर्नुअघि सभापतिले पार्टीमा कुनै छलफलसमेत नगरेको उनको भनाइ छ ।

महामन्त्री थापाले भने, ‘मैले त पछि थाहा पाएको हो । यो परिपाटी एक डेढ वर्षदेखि चल्दै आएको छ । आजको दिनसम्म चल्यो । मैले सहँदै आएँ । किनभने सभापति हो, बहुमत उहाँसँग छ भनेर सहेँ । नसहनुपर्ने कुरा सहेकाले अब म सहन्न भन्ने कुरा मैले बदल्ने हो ।’

पार्टी नेतृत्वको ती निर्णयले पार्टीलाई नै अहित गरिरहेको उनको भनाइ छ ।