अनुहारमा चायापोतो किन आउँछ ?

सफा, चम्किलो र दागरहित छाला कसलाई मन नपर्ला ? तर कहिले छालासम्बन्धी रोग त कहिले हाम्रो आफ्नै लापरवाहीले अनुहारको छालामा समस्या आइरहेको हुन्छ ।

अनुहार राम्रो हुँदा पनि कतिपय अवस्थामा छालामा दाग, चाया र पोतो आउने समस्याले सताउन सक्छ । यस्तो समस्याले व्यक्तिमा नैराश्यता ल्याउने र आत्मविश्वासमा समेत कमी ल्याउन सक्छ । यदि समयमै छालाको हेरचाह गरे यसको पनि समाधान हुन सक्छ ।

कारण

सूर्यको किरण

अनुहारमा चायापोतो आउनु छालासमबन्धी एक रोग हो । छालालाई रङ दिने मेलानोसाइट कोषिकाहरु बढेपछि अनुहारको रङ गाढा भई चायापोतो बढाउँछ । यसलाई बढाउने मुख्य कारक घामको किरण नै हो । सूर्यको परावैजनी किरणले छालाको विभिन्न समस्या निम्त्याउन सक्छ । बढी मात्रामा घाममा काम गर्ने र बस्ने व्यक्तिमा यस्तो समस्या देखिन सक्छ ।

वंशाणुगत

चायापोतो आउनुको अर्को कारण वंशाणुगत पनि हुन सक्छ । यदि परिवारको सदस्यमा चायापोतो आउने समस्या भए सन्तानमा पनि देखिन सक्छ ।

औषधि

महिलामा गर्भनिरोधक चक्की पिल्स, छारेरोगको औषधि सेवन गर्ने घामको सम्पर्कमा आइराख्दा यस्तो समस्या देखिन सक्छ ।

स्वास्थ्य समस्या

थाइराइड, गर्भावस्था, हार्मोनल परिवर्तन, विभिन्न ग्रन्थिमा ट्युमर हुँदा कोषिकाहरु बढ्न जान्छन् । त्यसकारण पनि चायापोतोको समस्या देखिन्छ । त्यस्तै १० प्रतिशतमा विनाकारण पनि यो समस्या देखिन्छ ।

कहाँ-कहाँ आउँछ ?

यो सबैभन्दा बढी अनुहारमा देखिन्छ । प्रायः गालाभन्दा माथि हड्डी भएको भाग, नाक, निधार र चिउँडोमा देखिन्छ । यदि छालाको सतहमा मात्र पोतो भएमा भने हल्का खैरो मात्र हुन्छ । तर छालाको भित्री सतहमा असर गरेको खण्डमा गाढा निलो र कालो देखिन्छ ।

उपचार

यसको मुख्य उपचार भनेको नै घामबाट बच्नु हो । किनभने घामको सम्पर्कमा छाला पर्ने बित्तिकै  मेलुनोसाइट कोषिकाहरु उत्तेजित हुन थाल्छन । त्यसैले घाममा निस्किंदा वा घाममा काम गर्नुपरेमा सनस्क्रिन लगाउनु अनिवार्य छ । सनस्क्रिन लगाउँदा छालाको प्रकारअनुसार लगाउनुपर्छ । यदि चिल्लो अनुहार भएमा जेल बेस वा लोसनयुक्त लगाउने र सुख्खा छाला भए क्रिम लगाउने गर्नुपर्छ । साथै ३० देखि ५० सम्मको एसपीएफ भएको सनस्क्रिन लगाउनु उपयुक्त हुन्छ ।

छालाको उपचार कुनै क्रिम लगाएर मात्र हुँदैन, एन्टिअक्सिडेन्ट खानेकुरामा जोड दिनुपर्छ । जसको लागि भिटामिन सी र एयुक्त खानेकुरा दैनिक खानुपर्छ । गाँजर, काँक्रा, पाकेको फर्सी, अमलाको रस खाँदा छालालाई घाम वा विभिन्न कारणले पुर्‍याएको क्षति व्यहोर्न मद्दत पुग्छ ।

त्यस्तै यसको उपचार छालाको प्रकार अनुसार गरिन्छ । चिकित्सकले छालाको प्रकार हेरेर यसलाई हटाउने मलम दिन सक्छन् । कसैलाई भने मलमले मात्र नभई औषधि पनि आवश्यक पर्न सक्छ ।

यदि चाया हल्का खैरो भएमा निको हुन र उपचारमा सहज हुन्छ, किनकि यसले छालाको सतहमा मात्रै असर गरेको
हुन्छ । तर भित्री सतहमा फैलिएको चायापोतो गाढा हुने हुँदा उपचार पनि कठिन हुन सक्छ ।

औषधिले मात्र कम नहुने केसमा सर्जिकल उपचार विधि, भिटामिन सीको मात्रा बढाएर गरिने केमिकल पिलबाट पनि उपचार गरिन्छ । अहिले चलेको तर अन्य उपचारको दाँजोमा खर्चालु लेजर प्रविधिबाट पनि यसको उपचार सम्भव छ ।

ध्यान दिनुपर्ने कुरा

अनुहारमा चायापोतो आउने समस्या समाधानका लागि छालासम्बन्धी चिकित्सकको परामर्श लिनुपर्छ । कुन औषधि कति मात्रामा दिंदा राम्रो हुन्छ भन्ने कुरा छालाको प्रकृति हेरेर तय गरिने हुँदा जथाभावी औषधि आफैं लगाउनु हुँदैन ।

जथाभावी केमिकल भएको औषधिले छालालाई झनै बिगार्न सक्छ । फलस्वरूप छाला पातलो हुँदै जाने, शरीरभर डन्डीफोर आउने, छाला रातो हुनेदेखि रक्तनलीलाई असर गर्नेसम्म जोखिम हुन्छ ।

(प्रा. डा. भट्टराई छाला तथा यौनरोग विशेषज्ञ हुन् । उनीसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)