इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १६औँ संस्करणको फाइनल खेलमा गुजरात टाइटन्स र चेन्नई सुपर किङ्स भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १६औँ संस्करणको फाइनल खेलमा आज साविक विजेता गुजरात टाइटन्स र चेन्नई सुपर किङ्स भिड्दैछन्।

खेल अहमदाबादमा बेलुका पौने ८ बजे सुरु हुनेछ। गुजरात शीर्ष र चेन्नई दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा खेलेका थिए। पहिलो क्वालिफायरमा चेन्नईले गुजरातलाई १५ रनले हराउँदै फाइनलमा पुगेको थियो ।

गुजरात दोस्रो क्वालिफायर खेलमा पाँच पटकको च्याम्पियन मुम्बईलाई ६२ रनले हराउँदै फाइनलमा पपुगेको हो । गएको वर्ष पहिलो पटक आईपीएल खेलेको पहिलो वर्ष नै गुजरातले उपाधि जितेको थियो । चार पटकको विजेता चेन्नईले आईपीएलमा फाइनल खेल्न लागेको यो दशौँ पटक हो।

यस सिजनको आईपीएल विजेता टोलीले २० करोड भारु नगद पुरस्कार पाउने छ। त्यस्तै उपविजेता टोलीले १३ करोड भारु दिइनेछ। त्यसैगरी तेस्रो र चौथो हुने टोलीले पनि ७-७ करोड रुपैयाँ पाउनेछन्।