अमेरिकामा कोरोनाबाट मर्ने संख्या ८० हजार नाघेको छ

३० वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट सबै भन्दा बढी प्रभावित भएको देश हो अमेरिका आजसम्म मृत्यु हुनेहरुको संख्या ८० हजार नाघेको छ । संक्रमणको जोखिम बढेपछि राष्ट्रपति कार्यालय ह्वाइट हाउसका कर्मचारीहरुले पनि मास्क प्रयोग गर्न थालेका छन् ।

जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या १३ लाख ४६ हजार ७ सय २३ पुगेको छ भने ८० हजार ३ सय ५२ जनाको मृत्यु भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनालाई लुकेर बसेको दुश्मनको संज्ञा दिएका छन् । ट्रम्पका अनुसार अमेरिकामा दैनिक एक लाख ५० हजारदेखि तीन लाख जनाको परीक्षण भइरहेको छ । सोमबारसम्म ९० लाखभन्दा बढीको कोरोना परीक्षण भइसकेको छ ।

कोरोनाको संक्रमणको महामारीसँगै अमेरिकी अर्थतन्त्र नराम्रोसँग प्रभावित भएको छ । ट्रम्पले भने आगामी वर्ष अमेरिकी अर्थव्यवस्था राम्रो स्थितिमा पुग्ने विश्वास व्यक्त गरेका छन् । उनले भने, ‘आगामी वर्ष सबैभन्दा राम्रो वर्ष हुने छ किनभने बजारमा माग अत्यधिक हुने छ ।

ह्वाइट हाउसकै कर्मचारीहरु पनि कोरोनो संक्रमित पाइएको सन्दर्भमा ट्रम्पले भने, ‘एक जनामा पोजेटिभ देखिएको छ । आश्चर्य त यो छ कि एक दिन अगाडि नेगेटिभ पाइएको थियो । यो लुकेर बसेको दुश्मन हो । हामी चनाखो हुनुपर्छ ।

यसअघि गत बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पको एक जना सुरक्षाकर्मीलाई कोरोना पुष्टि भएको थियो । त्यसको तीन दिनपछि उपराष्ट्रपति माइक पेन्सको प्रेस सेक्रेटरीलाई पनि कोरोना पोजेटिभ देखिएको थियो । कोरोना संक्रमितको सम्पर्कमा आएपछि कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बनाइएको ह्वाइट हाउस टास्क फोर्सका मुख्य तीन अधिकारीहरु क्वारेन्टाइनमा छन् ।

अमेरिकी मिडियाका अनुसार ह्वाइटहाउसले आफ्ना कर्मचारीहरुलाई मास्क प्रयोग गर्न सूचित गरेको छ । तर, राष्ट्रपति ट्रम्प स्वयंमा भने यो अझै लागू भएको छैन । किनभने उनले मास्क लगाएको अझै देखिएको छैन ।