Breaking News

शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहबारेको अनुसन्धान सकेर रायसहितको प्रतिवेदन बुझाउन सरकारी वकिलले निर्देशन दिएपनि प्रहरीले प्रतिवेदन नबुझाउने

३ जेठ, काठमाडौं । नेपाली नागरिकलाई शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असूली गरेको गिरोहबारेको अनुसन्धान सकेर रायसहितको प्रतिवेदन बुझाउन सरकारी वकिलले निर्देशन दिएपनि प्रहरीले प्रतिवेदन नबुझाउने भएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले अनुसन्धान नसकिएको भन्दै बुधबार प्रतिवेदन नबुझाउने निर्णय गरेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सिताराम रिजालले बताए । उनले भने, अनुसन्धानका क्रममा गर्नुपर्ने कामहरु पूरा नभएकाले आज प्रतिवेदन नबुझाउने भएका हौं, छिट्टै बुझाउने प्रयासमा छौं ।

प्रहरीले यसमा संलग्नलाई अहिले ठगी र संगठित अपराधसम्बन्धी कसूरमा म्याद थप गरेको छ । यसमा ६० दिनभित्र प्रहरीले अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अदालतमा मुद्दा पेश गर्नुपर्छ । सरकारी वकिलले अध्ययनका लागि भन्दै एकसाता अघि बुधबार प्रतिवेदन बुझाउन भनेको थियो । तर, अनुसन्धान नसकिएपछि प्रहरीले प्रहरी नबुझाउने भएको हो । फेरि म्याद थप गरेर अनुसन्धानको बाँकी काम पूरा गर्ने काठमाडौं प्रहरीको तयारी छ ।