१२ जनालाई संगठित ठगी कसुरमा मुद्दा चलाउने तयारी

काठमाडौं । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई अझै प्रहरीले पक्राउ गर्न सकेको छैन । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा मुछिएपछि पक्राउ पुर्जी जारी भएलगत्तै एमाले सचिव रायमाझी फारार छन् । प्रहरीले रायमाझीविरुद्ध वैशाख २० गते पक्राउ पुर्जी जारी गरेको थियो ।

पक्राउ पुर्जी जारी हुँदा उनी गृहजिल्ला अर्घाखाँचीको एक कार्यक्रममा सहभागी थिए । तर, प्रहरीको आँखा छल्दै सभामुख देवराज घिमिरेसँगै भैरहवासम्म आएका उनी फरार छन् ।

यस प्रकरणमा संलग्नता देखिएपछि प्रहरीले रायमाझीका छोरा सन्दीप रायमाझीलाई भने वैशाख २० गते पक्राउ गरेको थियो ।

यसबीच टोपबहादुरको खोजीका लागि प्रहरीको एउटा टोली भारत पुगेका छन् । प्रहरी स्रोतका अनुसार रायमाझी भारतमा रहेको आशंका गरिएको छ । कतिपयले भने उनी काठमाडौंमै रहेको बताउँछन् । रायमाझीको खोजीका लागि केन्द्रीय अनुसन्धान ब्यूरोको टोली भारत पुगेको स्रोतको भनाई छ ।

यस्तै, शरणार्थी ठगी प्रकरणमा थप दुई जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत काठमाडौंले आइतबार थप दुईविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

नेपाली कांग्रेसका पूर्वसांसद आङ्टावा शेर्पा र नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक थापालाई पक्राउ अनुमति जारी गरिएको हो ।

अहिलेसम्म पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डेलगायत १२ जना पक्राउ परिसकेका छन् । पक्राउ परेकाले दिएको बयानका आधारमा थप दुई जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो ।

पक्राउ पुर्जी जारी भएका कांग्रेसका पूर्वसांसद आङ्टावा शेर्पाले सानु भण्डारीलाई भेट गरेपछि खाँणसँग मिलेमतो गरेको आशंका गरिएको छ ।

संगठित ठगी कसुरमा अभियोग लगाउने तयारी
शरणार्थी ठगी प्रकरणमा अहिलेसम्म प्रहरीले पूर्वगृहमन्त्री खाँण, सचिव टेकनारायण पाण्डेलगायत १२ जनालाई पक्राउ गरिसकेको छ ।

पक्राउ हुनेहरुमा पूर्वगृहमन्त्री खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री बादलका तत्कालीन सुरक्षा सल्लाहकार ईन्द्रजित र पूर्वउपप्रधानमनत्री तथा एमाले नेता टोपबहादुर रायमाझी छन् ।

यस्तै, सानु भण्डारी, केवश दुलाल, रामशरण केसी, गोविन्द चौधरी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ पनि पक्राउ परिसकेका छन् । पक्राउ परेका १२ जनालाई थप ४ दिन हिरातमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको माग बमोजिम पूर्वगृहमन्त्री तथा कांग्रेस नेता खाँणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आइतबार अदालतले अनुमति दिएको हो ।

साथै, उनीहरुलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अहिलेसम्म प्राप्त प्रमाणका आधारमा मुलुकी अपराध संहिता, २०७४ बमोजिम ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अभियोग लगाउने तयारी गरेको छ । जिल्ला वकिल कार्यालय सहन्यायाधिवक्ता अच्यूतमणी नेउपानेले भने अहिलेसम्म ऐनको कुन दफाबमोजिमको कसुरमा अभियोग लगाउने भन्ने यकिन भइसकेको बताए । अबको केही दिनमा प्रहरीले प्रतिवेदन बुझाउने छ । सरकारी वकिलको कार्यालयले भने १० दिनभित्र अभियोग अदालतमा दर्ता गर्नेछ ।

पछिल्लो पटक पक्राउ पुर्जी जारी भएका बादलका छोरा प्रतिक र पूर्वसांसद आङ्टावा पनि यो ठगी प्रकरणमा संलग्न रहेको प्रहरीले प्रमाण भेटेको दाबी गरेको छ । प्रतिकले भने यसअघि विज्ञप्ति निकालेर उक्त घटनामा आफ्नो कुनैपनि संलग्ना नरहेको भन्दै आपत्ति जनाएका थिए ।

कांग्रेस नेता आङ्टावाले यस प्रकरणमा थुनामा रहेका केशव दुलाल र सानु भण्डारीसँग हिरासतमा पुगेर भेट गरेका थिए । प्रहरीका अनुसार हिरासतमा गएर शेर्पाले कांग्रेस नेता बालकृष्ण खाँणले आरोपीहरुसँग लिएको रकम फिर्ता गर्ने आश्वासन दिएका थिए ।

पछिल्लो समय नेपालमा भ्रष्टाचार मौलाएको भन्दै नागरिकस्तरमा यसको चर्को विरोध भइरहेको छ । अहिले भ्रष्टाचारमा मुछिएका जो कोही पनि छुट्न नहुने भन्दै निष्पक्ष छानविन गर्नुपर्ने माग बढ्दो छ ।

दृष्टिबाट