शिक्षकले परीक्षा हलबाट निकालेपछि बीडीएस चौथो वर्षमा अध्ययनरत सिम्रन थापाले आत्महत्या

काठमाडौं । चितवन मेडिकल कलेजमा अध्ययनरत एक विद्यार्थीले आत्महत्या गरेका छन् । बुधबार आन्तरिक परीक्षा चलिरहेको बेला शिक्षकले परीक्षा हलबाट निकालेपछि बीडीएस चौथो वर्षमा अध्ययनरत सिम्रन थापाले आत्महत्या गरेका हुन् ।

परीक्षा हलमा चिट चोरेको भन्दै निरीक्षकले हलबाट बाहिर निकालेका थिए । पोखरा स्थायी घर भई चितवनमा भाडामा बस्दै आएका थापा उक्त घटनापछि कोठामा गएर सिलिङ पंखामा सलको पासो लगाई आत्महत्या गरेका हुन् ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनापछि चितवन मेडिकल कलेजमा इमरजेन्सीबाहेकका सबै सेवा बन्द गरिएको छ ।

मेडिकल कलेजका विद्यार्थीहरुले विज्ञप्ति जारी गर्दै मृतक थापाले आन्तरिक परीक्षा दिइरहेको समयमा परीक्षामा खटिएको शिक्षकले जबरजस्ती मानसिक तनाव दिई परीक्षा हलबाट निकालेपछि उनले आत्महत्या गर्न बाध्य भएको बताएका छन् ।