पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई अदालतले ८ दिन हिरासतमा राख्न अनुमति

एजेन्सी

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई अदालतले ८ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

भ्रष्टाचारविरोधी निकाय नेसनल एकाउन्टेबिलिटी (एनएबी)ले राजधानी इस्लामाबादको अदालतमा खानलाई भ्रष्टाचार मुद्दामा सोधपुछका लागि १० दिन हिरासतमा राख्न अनुमति मागेकोमा अदालतले आठ दिन अनुमति दिएको हो ।

नेसनल एकाउन्टेबिलिटी ब्युरो (एनएबी) का डेपुटी प्रोसिक्युटर जनरल सरदार मुजफ्फर अब्बासी र विशेष अभियोजक रफिक मसुद पनि अदालतमा उपस्थित थिए । अदालतमा एनएबीको तर्फबाट सरकारी वकिल सरदार जुल्कारनैन र अनुसन्धान अधिकृत मियाँ ओमर नदिमले प्रतिनिधित्व गरेका थिए ।

खान नियमित सुनुवाइका लागि अदालत उपस्थित हुने क्रममा मंगलबार अदालत परिसरबाटै पक्राउ परेका थिए । उनलाई प्रहरी प्रधान कार्यालयको विशेष अदालतमा बन्द ढोकामा हाजिर गर्नुअघि राति अज्ञात स्थानमा लगिएको थियो ।

आफूलाई हिरासतमा यातना दिइएको र वासरुम प्रयोग गर्नसमेत नदिइएको खानले अदालतमा बताएका थिए । पाकिस्तानका अर्धसैनिक बलले खानलाई गिरफ्तार गरेपछि देशभर व्यापक विरोध प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा खानका समर्थक र प्रहरीबीच झडप हुँदा ४ जनाको मृत्यु भएको छ भने कयौं घाइते भएका छन् ।