नेपाली कांग्रेसका शीर्ष नेताहरु बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु बैठक सुरु भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज अपरान्ह साढे ४ बजेबाट बैठक सुरु भएको हो । कांग्रेसका एक पदाधिकारीका अनुसार नीति अधिवेशन, केन्द्रीय समिति बैठक, भ्रातृ संस्थाको पूर्णता, विभाग गठन, मन्त्री छनोट लगायतका विषयमा छलफल हुनेछ ।
गतभदौ ५ यता कांग्रेस केन्द्रीय समिति बैठक बस्न सकेको छैन । गत मंसिर २७ मा १४ औँ महाधिवेशन गरेको कांग्रेसले अहिलेसम्म पार्टी संरचनालाई पूर्णता दिन सकेको छैन ।

कांग्रेसको विधानमा महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र सांगठनिक संरचनालाई पूर्णता दिनुपर्ने बाध्यात्मक व्यवस्था छ । तर कांग्रेसमा पदाधिकारी, केन्द्रीय कार्यसमिति, कार्यसम्पादन समिति र संसदीय बोर्डसमेत अपुरो छ । १४ सदस्यीय पदाधिकारीमा कोषाध्यक्ष मनोनित गर्नै बाँकी छ भने १६८ सदस्यीय केन्द्रीय समितिमा १५६ जना सदस्यमात्र छन् । सभापतिले १२ जना केन्द्रीय सदस्य मनोनित गर्न बाँकी छ ।

पार्टी विधानअनुसार ४६ सदस्यीय कार्यसम्पादन समिति हुनुपर्नेमा अहिले ३६ सदस्यमा सीमित छ । २५ सदस्यीय संसदीय बोर्डमा पदाधिकारीमात्र छन् । बाँकी सदस्य मनोनित गर्न सभापति शेरबहादुर देउवाले नसकेको अवस्था छ । यस्तै २८ वटा विभाग पनि कहिले गठन हुन्छन् भन्ने टुङ्गो छैन । कांग्रेसको पार्टी संरचनामात्र होइन, भ्रातृ संस्था पनि लथालिङ्ग अवस्थामा छन् । गत फागुन ३ गते केन्द्रीय कार्यसम्पादन समितिले १० वटा भ्रातृ संस्थाको कार्यसमिति भङ्ग गरेको थियो । साथै बैठकले फागुन मसान्तभित्र केन्द्रीय तदर्थ समिति गठन गर्ने अधिकार सभापति देउवालाई दिएको थियो ।

सभापति देउवाद्वारा गत वर्ष फागुन ९ मा नेविसंघ, तरुण दल, असार १० मा नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ र साउन २६ मा नेपाल महिला संघमा सभापति मनोनित गरिए पनि बाँकी भ्रातृ संस्थामा नेतृत्व समेत आएको छैन । तदर्थ समितिलाई तीन तहको निर्वाचनको अन्तिम परिणाम आएको तीन महिनाभित्र अधिवेशन गर्नुपर्ने म्यान्डेट दिइएको थियो । गत मंसिरमा आम निर्वाचन सम्पन्न भएकाले तदर्थ समितिले फागुनसम्म महाधिवेशन गरिसक्नुपर्ने थियो । तर, नेतृत्व पाएका भ्रातृ संस्थाले पूर्णतासम्म नपाएको अवस्था छ ।