योग सुरु गर्दै हुनुहुन्छ ? ५ कुरामा ध्यान दिनुहोस्

शारीरिक तथा मानसिक रुपमा स्वस्थ रहन योग उत्तम विकल्पमध्ये पर्छ । पछिल्लो समय योगप्रति धेरै मानिसको आकर्षण बढ्दै गएको छ ।

पहिलो पटक योग गर्न जानेहरुलाई भने कसरी सुरु गर्ने भन्ने अलमल हुन सक्छ । हुन त अहिले युट्युब लगायतमा भिडियो हेरेर पनि योग गर्न सकिन्छ । भिडियो हेरेर आफैं गरे पनि वा यदि योगगुरुसँग सिक्न जाँदै हुनुहुन्छ भने केही कुरामा पक्कै ख्याल गर्नुपर्छ । सामान्य गल्ती गर्दा योगको उल्टो प्रभाव पर्न सक्छ ।

१. श्वासप्रश्वासको गतिमा ध्यान दिने

योगमा श्वासप्रश्वासले महत्त्वपूर्ण भूमिका खेल्छ । पहिलो पटक योग गर्ने व्यक्तिले कुनै प्रशिक्षकको निर्देशन बिना योग गरिरहेका छन् भने आसन गर्दा श्वासप्रश्वासको गतिमा ध्यान दिनुपर्छ । धेरैलाई योग गर्दा मुखबाट सास फेर्न हुँदैन भन्ने कुरामा ध्यान नहुन सक्छ । आसनमा कहिले सास लिने र कहिले छाड्ने गर्नुपर्छ भन्ने जानकारी हुनुपर्छ । त्यस्तै, शरीर फैलिंदा सास लिने र शरीर खुम्चिंदा सास छोड्ने गर्दा प्रभावकारी हुन्छ ।

२. खाली पेटमा योग

पहिलोपटक योग गर्न जाँदै हुनुहुन्छ भने खाली पेटमा मात्र अभ्यास गर्नुपर्छ भन्ने कुरामा ध्यान दिनुपर्छ । बिहानको खाजा वा खाना खाने बित्तिकै योग गर्नु हुँदैन । यदि बिहान योग गर्ने समय छैन तर दिनको एकपटक योग गर्ने योजना बनाउनुभएको छ भने कम्तीमा दुई घण्टा जति खानेकुरा खानु हुँदैन । योग गरेपछि तुरुन्तै खाना नखानुहोस् । बरु शरीरलाई आराम दिनुहोस् र त्यसपछि खानुहोस् ।

३. कसिलो पहिरन नलगाउने

योग गर्दा आरामदायी लुगा लगाउनुपर्छ । ताकि शरीरलाई तन्काउँदा सहज होस् । टाइट लुगा लगाउनाले शरीरको मांसपेशी लचिलो हुन पाउँदैन र तन्किंदा लुगा च्यातिने डर हुन्छ । अर्कोतर्फ टाइट कपडाको कारण तपाईंको एकाग्रताका साथ योगमा ध्यान दिन सक्नुहुन्न ।

४. सिधै अभ्यास नगर्ने

पहिलो पटक सिधै योगासनमा जानु हुँदैन । योगासन वा प्राणायाम गर्नुपूर्व शरीर र मनको तयारीको लागि हल्का व्यायाम गरेर शरीरलाई वार्मअप गर्नुपर्छ । त्यसपछि मात्र योग गर्न शरीर तयार रहन्छ ।

५. कठिन योग अभ्यास नगर्ने

पहिलो पटक योग गर्दै हुनहुन्छ भने सरल र आधारभूत योगासनबाट सुरु गर्नुपर्छ । कठिन योगासन गर्न खोज्दा चोटपटकको जोखिम हुन सक्छ । र, योग वियोगमा परिणत हुन सक्छ । त्यसैले कुनै पनि योगाभ्यासको लागि सही आसन कुन हो भनेर सही रूपमा जान्नुपर्छ । किनकि शरीर, मौसम, रोग र आवश्यकता अनुसार योग आसन र प्राणयाम फरक–फरक हुन सक्छन् ।

त्यसैले त भनिन्छ, योगाभ्यासको लागि यसका जानकारसँग आवश्यक परामर्श गरेर मात्र सुरु गर्नुपर्छ ।

(योग प्रशिक्षक खतिवडासँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)