४ वैशाख, काठमाडौं । काठमाडौंको शान्तिवाटिकामा मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको छ । झडपमा परी केही मिटरब्याज पीडित घाइते भएका छन् भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शान्तिवाटिकामा बसेर आन्दोलन गरिरहेका मिटरब्याज पीडितले आज सिंहदरबार वरपर प्रदर्शन गर्ने तयारी गरेका थिए । त्यसैले प्रहरीले विहानैदेखि शान्तिवाटिकाको गेटमा पहरा दिएको थियो । दिउँसो मिटरब्याज पीडित ब्यानरसहित प्रदर्शनमा निस्कने क्रममा प्रहरीले रोकेपछि झडप भएको हो ।
प्रत्यक्षदर्शीका अनुसार त्यस क्रममा प्रहरीको लाठी लागेर ४÷५ जना मिटरब्याज पीडित घाइते भएका छन् भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घाइतेहरुको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सरकारले मिटरब्याज पीडितको एक समूहसँग १८ चैतमा पाँच बुँदे सहमति गरेको थियो । तर उक्त सहमतिले मिटरब्याज पीडितको तत्कालको समस्या समाधान नहुने भन्दै मिटरब्याज पीडितको अर्को समूह काठमाडौं केन्द्रित आन्दोलनमा आएको छ ।