मुख्यमन्त्री शाहीको हेलिकप्टर र्टुर

२८ बैशाख, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलगायतको टोली आज आइतबार बिहान हेलिकप्टर चढेर अनुगमन तर्फ हानिए । उनीहरू वीरेन्द्रनगरबाट जुम्ला सदरमुकाम खलंगा जाँदै थिए । जुम्लामा मुख्यमन्त्री नै जानुपर्ने न कुनै कार्यक्रम थियो न त ठूलो महामारी वा प्रकोप नै ।
मुख्यमन्त्री अनुगमन गर्ने भन्दै जुम्ला उडे । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रणको लागि गरेको तयारीबारे अनुगमन गर्न उनीहरू सुर्खेतबाट हेलिकप्टर चार्टर मा गएका थिए । सामाजिक विकास मन्त्री दल रावल, कर्णाली प्रदेश सरकारका प्रमुख सचिव टेकनारायण पाण्डे, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रिता भण्डारी (जोशी) हेलिकप्टरमा जुम्ला सवार भए । हेलिकप्टरमा गएर मुख्यमन्त्रीसहितको टोलीले अनुगमन गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गर्यो ।
दिउँसो मुख्यमन्त्री शाहीले जुम्लाका विभिन्न पालिकाका जनप्रतिनिधि र स्थानीय अधिकारीहरूलाई कोरोनासँग जुध्नका लागि सबै तयारी गर्न निर्देशन दिए ।
मुख्यमन्त्री शाहीसहित टोली जुम्लामै हुँदा सामाजिक विकास मन्त्री रावल र केही चिकित्सकहरू हुम्ला पुगे । केहीबेर स्वाब संकलन गरेर उनीहरू जुम्ला फर्किए ।
उनीहरूको आइतबार नै सुर्खेत फर्किने कार्यक्रम थियो ।
‘मौसममा खराब भएकाले उहाँहरूको हेलि जान सकेन । आज यतै बस्नुहुन्छ होला,’ जुम्लाकी प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले भनिन् ।
लकडाउनका बेला मानिसहरू सयौं किलोमिटर हिँडेर यात्रा गरिरहेका बेला अनुगमनको बहानामा मुख्यमन्त्री र कर्मचारी घुम्न गएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको छ । कर्णाली प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले यस्तो बेलामा अनुगमन नै अनावश्यक नभएको बताए । यस्तो बेलामा अनुगमनको के आवश्यकता थियो र,’ उनले भने, ‘अनुगमनै गर्नु परे पनि इन्टरनेटका माध्यमबाट गर्न सकिन्छ । हेलिकप्टर नै प्रयोग गर्नु अनावश्यक खर्च बढाउनु हो ।
समाचार सेतोपाटीबाट