६ करोडको पुल ६ महिना नपुग्दै भत्किन थाल्यो

२८ वैशाख, म्याग्दी । पूर्वाधार विकास योजना कार्यालयले दुई करोड १० लाख रुपैयाँको लागतमा कालिका शर्मा रसुवा जेभीमार्फत निर्माण सम्पन्न गरिएको सो पुल ६ महिना पनि नपुग्दै भत्कन थालेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख–स्वाँत जोड्ने आर्क मोटरेबल हो । गत मङ्सिरमा सो पुल निर्माण गरेको थियो ।
पाँच सय ३१ मिटर लम्बाइको सो पुलको बीच भागमा दुईवटा भ्वाङ परेको स्थानीयवासी सेते तिलिजाले जानकारी दिए । पुल दायाँबायाँ भागको जमीन भासिएको छ भने पर्खाल समेत भत्किन थालेकाले कुनै पनि बेला दुर्घटना हुनसक्ने स्थानीयवासीको भनाइ छ । पुलको अवस्था र त्यसबाट उत्पन्न सम्भावित जोखिमका बारेमा स्थानीय जनप्रतिनिधिलाई समेत जानकारी गराइएको छ ।
ठेकेदार कम्पनीले पुल निर्माण गर्दा गुणस्तरहीन सामग्री प्रयोग गरेको जनप्रतिनिधिलाई थाहा हुँदाहुँदै पनि चासो नराखेकाले यस्तो अवस्था आएको स्थानीयवासी सुबोध बरुवाल क्षेत्रीले बताए । ठेकेदारले एकसरो ढलान गरेको र स्थानीय जनप्रतिनिधिले पनि चासो नराखेको हुँदा ६ महिना पनि नबित्दै पुल भत्किने अवस्थामा पुगेको स्थानीयवासी डिल गर्वुजाले बताए ।
(रासस)