Breaking News

नेपाल विद्यार्थी संघका कार्यकर्ताहरूले केन्द्रीय कार्यालय सानेपामा नाराबाजी

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका कार्यकर्ताहरूले केन्द्रीय कार्यालय सानेपामा नाराबाजी गरेका छन् ।

उनीहरुले नेविसंघको महाधिवेशन गर्नुपर्ने र नेविसंघका सभापति दुजाङ शेर्पालाई बर्खास्त गर्न माग गर्दै केन्द्रीय कार्यालय अगाडी नाराबाजी गरेका हुन् ।

पार्टी सभापति शेरबहादुर देउवाले तत्कालीन नेतृत्वले महाधिवेशन गर्न नसकेपछि विघटन गर्दै गत वर्ष ९ चैतमा एक वर्षभित्र महाधिवेशन गर्ने गरी नेविसंघको केन्द्रीय तदर्थ समितिको अध्यक्षमा दुजाङ शेर्पालाई मनोनीत गरेका थिए । तर अहिलेसम्म उनको कार्य समितिले पूर्णतासमेत पाउन सकेको छैन ।

आजै पार्टीको कार्यसम्पादन समिति बैठक बस्दैछ । सो बैठक बस्नुअघि नेविसंघका नेता कार्यकर्ताले नाराबाजी गरेका हुन् । शनिबारदेखि रुपन्देहीका अमन भुसाल र कैलालीका राजेन्द्र चटौतले रिले अनशनसमेत थालेका थिए ।

दुजाङ शेर्पाको म्याद सकिएकाले उनलाई पदबाट हटाउनुपर्ने र नयाँ व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ । रिले अनशनको समर्थन गर्दै गरिएको नाराबाजीले त्यहाँको अवस्था तनावग्रस्त बनेको छ ।

पार्टी कार्यालय परिसरमा नाराबाजी भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । पार्टी कार्यालय छिर्ने गेटबाट छिर्ने सबैलाई चेकजाँच गर्न थालिएको छ । समिति सदस्य बाहेक अन्यलाई प्रवेश गर्न दिइएको छैन ।