कालिकोटको साबिक राम्नाकोट- ५ (हाल पचालझरना- ४) मा जन्मिएँ। बालापन जारकोट डाँडादेखि राम्नाकोटसम्मको ठाडो उकालो, भिर, पाखा, पखेरा, उबडखाबड र वन बुट्यान यी नै प्रकृतिसँग खेल्दै, संघर्ष गर्दै बित्यो।
अभाव, दु:खसुख र गरिबीमै विद्यार्थी जीवन पार गरेँ। त्यतिबेलाको अभाव र पारिवारिक समस्याको कारण पढेर सरकारी जागिर खानुपर्ने बाध्यता थियो, अन्य कुनै विकल्प थिएन। २०५५ सालमा एसएलसी उत्तीर्ण गरेपछि क्याम्पस पढ्ने रहर एकातिर थियो भने कक्षा दशको स्वास्थ्य शिक्षामा एसएलसी उत्तीर्णपश्चात फार्मेसी, स्वास्थ्य सहायक (एचए) पढ्न पाइने कुरा पढेको पनि थिएँ।
कान्छी बहिनी दुई वर्षको उमेरमा अकालमै कुपोषणको शिकार हुँदा, गाउँमा २०५०/०५१ तिर झाडापखालाको महामारी फैँलिदा, बाबा बिरामी हुँदा र ठुल्दाइ (ठूलो बाबाको छोरा) को पेट सम्बन्धी बिमारीका कारण गाउँबाट बोकेर नेपालगञ्ज उपचारको लागि लाँदै गर्दा सुर्खेतको तातोपानीमा ज्यान गएको लगायतका हृदयविदारक घटनाले स्वास्थ्य सेवामा लाग्ने रहर र हुटहुटी थियो।
त्यतिबेला के पढ्दा ठिक हुन्छ? कहाँ के पढाइ हुन्छ? भनेर सिकाउने र मार्गदर्शन गर्ने कोही नभएकोले तथा प्राविधिक शिक्षा अध्ययन गर्न महंगो, खर्चको जोहो गर्न धेरै मुस्किल भएकोले अरुको देखासिकी र लहडमा शिक्षक हुने रहरले सुर्खेतमा सरकारी क्याम्पस पढ्ने भएँ।
यसका लागि म र खड्गराज सेजुवाल (भतिज) साउने झरीमा रुझ्दै तीन दिनको पैदल यात्रा गरेर मान्म, सुकाटिया, हाउडी, बेउली, बझांगेनेटा, डाँडीमाडी, चुप्रा, डुंगेश्वर, गुराँसे, रानीमत्ता, शिद्धपाइला, लादे हुँदै सुर्खेत वीरेन्द्रनगर पुग्यौँ। सुर्खेत शिक्षा क्याम्पसमा आइएड अध्ययन गर्दागर्दै कर्णाली प्राविधिक शिक्षालय, जुम्लामा छात्रवृत्ति कोटामा नाम निक्लेपछि क्याम्पसको पढाइ थाँती राखेर सिएमए पढ्न जुम्ला गएँ।
१८ महिने कोर्श पढेपछि २०५८ चैत्रमा अहेवको लोक सेवा खुल्यो। काउन्सिल र प्रोभिजनल सर्टिफिकेट निकाल्न ढिला हुँदा दोब्बर दस्तुर तिरेर २०५९ वैशाख ५ गते फाराम भरी सुर्खेत केन्द्रमा २०५९ असार ८ गते लिखित परीक्षा दिएपछि पुसमा लिखित नतिजा प्रकाशित र माघ १८ गते अन्तरवार्ता भयो।
फागुनमा नतिजा प्रकाशन भई लोक सेवा आयोग, मध्यपश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय, सुर्खेतबाट जिल्ला स्वास्थ्य कार्यालय, जाजरकोटअन्तर्गत सिफारिस भएँ।
त्यतिबेला मध्यपश्चिमाञ्चल क्षेत्रिय स्वास्थ्य सेवा निर्देशनालय, सुर्खेतबाट स्थायी नियुक्ति र पदस्थापन गरेर हामीहरूलाई पठाएको थियो। मेरो पदस्थापन सीमा स्वास्थ्य चौकी, जाजरकोटमा भयो। सरकारी जागिरको अनुभव लिन र स्थायी भएको खुसीको कुनै सीमा थिएन, विश्व विजेता बनेजस्तो अनुभूति भइरहेको थियो। पदस्थापन भएको स्वास्थ्य संस्था सीमा स्वास्थ्य चौकी, जाजरकोट जानुपर्ने भयो।
२०५९ साल फागुन २२ गते नियुक्ति पत्र बुझेर फागुन २४ गते सुर्खेतको रानीमत्ता, भिउचुला, धरमपोखरा, मटेला, चिउदुवा, ताँगा भएर सीमा पुग्नको लागि रानीमत्तासम्म बसमा आएँ। त्यहाँबाट पैदल यात्रा सुरु भयो। त्यतिखेर भिउचुलासम्म सडक खनिएको थियो। झोलाझिम्टी भिरेर एक्लै बाटो सोध्दै हिँड्दा अनेक प्रश्नहरूको उत्तर दिनुपर्ने हुन्थ्यो।
त्यतिबेला देशमा द्वन्द्वको चरम अवस्थामा थियो। फेरि कालिकोटभन्दा अलि भिन्न र फरक प्रकारको अनुभूति हुन्थ्यो। तैपनि बाटोमा बटुवा र पसलेसँग कुनै दोबाटो आउने बित्तिकै सोध्थेँ अनि हिँड्थेँ। यसरी साँझ बास बस्न मटेला, सुर्खेत पुगेँ।
ठाँटी बजारमा अहिले जस्तो चहलपहल र बजार थिएन। २-४ वटा जति पसल थिए र मटेला स्वास्थ्य चौकी थियो। बजारमा बास नपाएपछि अलि माथि गाउँमा बस्नु पर्यो। माओवादी कार्यकर्ता ठानेर धेरै भलाकुसारीपछि बल्ल बास बस्न पाइयो। दिनभरिको थकानको कारणले जस्तो ठाउँ भए पनि हुन्थ्यो होला भन्ने भएको थियो।
रात बिताएर बिहान चिउदुवा खाना खान पुगिन्छ भनेपछि त्यताबाट बिहानै झिसमिसेमा हिँडेँ तर बाटोमा भएको एउटा चिया पसल पनि बन्द रहेछ। जति माथि उकालो पुग्यो त्यति नै सुनसान थियो, कुनै घरहरू थिएनन्। भोकप्यास र थकाइ लागिरहेको थियो। अझ माथि पुगेपछि पानी पाउन पनि छोड्यो।
जंगल भित्रको बाटोमा एक्लै यात्रा सुरु भयो। डर मानेर एक्लै हिँडिरहेँ। कहिले बाटो बिर्सें कि जस्तो लाग्थ्यो। धेरै पटक कुलदेवता पुकार्दै आमा, बाबा र आफन्त सबैलाई सम्झिएँ तर जागिरे भएको उमंग र उत्साहले सबथोक प्राप्त गरे झैँ निरन्तर हिँडिरहेँ। एक प्रकारको जोशले सबै कुरालाई बिर्साएको थियो।
सपना थियो, त्यसले माथि-माथि हिँड्न उर्जा दिइरहेको थियो। पानी बिना त्यो सुनसान जंगलमा भोकप्यास र थकाइसँग जागिरे हुने युद्ध लडिरहेको थिएँ। २ बजे चिउदुवा पुग्नै लागेको रहेछु। सुवानाउलीबाट सुर्खेत जाने बासँग रोटी मागेर खाएपछि बल्ल त्यो उकालो चढ्न सकेँ। त्यो भुंग्रे रोटो र आलुको अचार स्टार होटलको खानाभन्दा कैयौं गुणा स्वादिष्ट थियो र सबथोक थियो, अहिले पनि याद आइरहन्छ।
रोटी खाएर चिउदुवा (मटेला, थालारैकर र सीमाको सीमाना) लेकमा पुगेँ। त्यतिबेला एउटा घर निर्माण हुँदै थियो र खुला चिया पसल थियो। त्यहाँ पानी, एक कप चिया र टाटा बिस्कुट खाएँ। एकछिन आराम गरेर लालीगुराँस फुलेको जंगलको तेस्रो बाटो हिँडेर देउली पुगेँ। त्यहाँ २ वटा चिया र चाउमिन पसल थिए।
चाउमिन खाएर ओरालो हिँड्दै चम्बलादेवी प्रावि तांगा (सीमा-३) पुगेँ। हेमराज शर्मा र रेशमकुमार रेग्मी सरसँग परिचय भयो। उहाँहरू सीमाको हुनुहुँदो रहेछ। राक्माको खिमबहादुर थापा दाइ पनि थिए। वहाँले मेरो ब्याग बोकिदिनु भयो र वहाँको पछि-पछि म राक्मा पुगेँ।
राक्मा पुगेपछि ग्रास्वाका अरुणकुमार मल्लसँग भेट भयो। वहाँ मल्लजीको नाममा चिनिनु हुँदो रहेछ। गाउँमा अहेव, अनमी, ग्रास्वाका सबैलाई डाक्टर भन्दा रहेछन्। भोलिपल्ट हेल्थ पोष्टमा गयौँ। वहाँले हाजिर गर्नू र हाजिर भएको जानकारी तयार गर्नू भनेर सिकाउनु भयो। मैले पनि सिक्ने कोसिस गरेँ।
म निमित्त हेपो इन्चार्ज र गाउँलेहरूको लागि डाक्टरसाब भएकोमा गर्वले छाती फुलाइरहेको थिएँ। पहिलो प्रयासमा सरकारी जागिरे भएकोमा खुसीले अभावका क्षितिजहरूलाई खिसीटिउरी गरी जिस्काइरहेका थिए। सीमा हेल्थ पोष्ट सदरमुकाम खलंगादेखि १७ कोसको दूरीमा थियो। पैदल यात्रा गरेर खलंगा र सुर्खेत पुग्न लगभग बराबर थियो।
३ वर्षको अन्तरालपछि २०६० सालको दसैँमा अनेक बाधा र व्यवधानका बाबजुद पनि जन्मथलो राम्नाकोट पुगेँ। अनि तिहारपछि कार्यक्षेत्रमा आएर सिटरोल दर्ता, बिमा र सञ्चय कोषको कार्ड दर्ता गर्न काठमाडौं गएँ। अन्य सबै ठाउँमा सहज रुपमा दर्ता भयो तर निजामती किताबखानामा १० दिनसम्म धाउँदा पनि सिटरोल दर्ता भएन। के-के चाहियो भनेर दर्ता शाखाका सरले कहिले मन्त्रालय, कहिले विभाग कुदाए। एघारौं दिन ३०० रुपैयाँ चियापान खर्च दिएपछि सजिलै सिटरोल दर्ता भयो।
ओजेटीमा सुर्खेत अस्पतालमा डा. डम्बर खड्का, डा. न्हुच्छेमान डंगोल, डा. रामशंकर ठाकुर र डा. केशर ढकाल र अन्य स्वास्थ्यकर्मीहरूसँग सिकेका कुराहरू र डाक्टर डम्बर खड्काको क्लिनिकमा सिकेका सीपहरू अहेव हुँदा कार्यक्षेत्रमा प्रयोग गरेँ। सीमाका सबै वडामा टिटी, दादुरा खोप, पोलियो खोप अभियान लगायतका राष्ट्रिय कार्यक्रमहरू सबै बस्तीसम्म पुगेर सञ्चालन गर्यौं।
त्यो अभियानमा सहयोग र सानातिना अवरोध दुवै भए। अनि स्वास्थ्यकर्मीलाई जीउज्यान तलमाथि गर्ने धम्की पनि आउने गर्थे। हामीहरूले सबै मिलेर सकेसम्म आफ्नो ड्युटी पूरा गर्ने कोसिस गर्यौं। समूह भावनाले काम गर्यौं। हेल्थपोष्टमा बिरामी नाम दर्ता शुल्क लगायौं, यसले औषधिको दुरुपयोग रोक्ने काम गर्यो।
यही विषयमा धेरै जनासँग विवाद पनि भयो। गाउँघर क्लिनिक, खोप क्लिनिक नियमित रुपमा सञ्चालन गर्यौं। जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा पुरुष परिवार नियोजन शिविर पनि सञ्चालन गर्यौं। बर्थिङ सेन्टर पनि स्थापना भई त्यसलाई पनि व्यवस्थित रुपमा सञ्चालन गरेका थियौं। वार्षिक समीक्षामा उत्कृष्ट पनि भयौँ।
मुलुकमा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन थियो, निषेधको राजनीति सुरु भएको थियो। सरकारले संकटकाल घोषणा गरेको थियो। अन्य राजनीतिक दलका गतिविधिहरू गाउँमा शून्य थिए। आकाशमा हेलिकोप्टर प्राय: उडिरहन्थे अनि रेडियो नेपालको समाचारमा दोहोरो भिडन्तमा परी मरेको र घाइते भएको खबर आइरहन्थ्यो।
रेडियो नेपालको समाचार र जनसरकारको एफएमको समाचारमा शहादत प्राप्त गर्ने र घाइते हुनेको संख्या फरक हुन्थ्यो, आधिकारिक कसलाई मान्ने भन्ने भ्रम हुन्थ्यो। विकास निर्माणका कार्यहरू प्राय: ठप्प नै थिए, गाउँ विकास समितिको कामहरू सदरमुकाममा हुन्थे। कुनै पनि योजनाका कामहरू हुँदैन थिए, केवल कागजी योजनाहरू थिए।
गाउँमा भएका प्रहरी चौकी, गाविस भवन भत्काइएका र ध्वस्त गरिएका थिए। झोलुङ्गे पुलहरूमा सहज यात्रा गर्न अवरोध थियो। सञ्चारको कुनै पनि सुविधा थिएन। जनअदालत गठन गरिएका थिए। न्याय निसाफ त्यहीबाट हुन्थ्यो।
एकातिर जनमुक्ति सेना र अर्कोतर्फ शाही नेपाली सेना थिए। युनिफाइड फोर्सको नेतृत्व तत्कालीन शाही नेपाली सेनाले गरेको थियो। देश नै आन्तरिक द्वन्द्वको दलदलमा फसेको थियो। युद्ध चर्काएर हतियारको व्यापार गर्नेको हालिमुहाली थिए।
कर्मचारीहरूले जनयुद्धको बेलामा सहयोग स्वरुप माओवादी पार्टीलाई नियमित रुपमा तलबको पाँच प्रतिशत लेबी र लजेस्टिक स्वरुप झोला, जुत्ता, ज्याकेट लगायत सामानहरू दिनुपर्थ्यो। जिल्ला सदरमुकाम जानको लागि यात्रा अनुमति लिनुपर्थ्यो। पार्टीको कार्यक्रम र भेलामा अनिवार्य आउनु पर्ने उर्दी हुन्थ्यो।
पार्टीको कार्यक्रममा मनाघाट कार्की गाउँसम्म पनि पुगेँ। प्रत्येक एरियामा एरिया इन्चार्जहरू हुन्थे। त्यतिबेला गाउँमा जनसरकार गठन गरिएको थियो। राज्यको तर्फबाट गाउँमा स्वास्थ्यकर्मी र शिक्षक मात्रै थियौँ। अनि सदरमुकाम प्रवेश गर्दा सुरक्षाकर्मीबाट पनि चेकजाँच हुन्थ्यो, आफूसँग भएको कर्मचारीको परिचय-पत्र देखाएपछि पनि केरकार हुन्थ्यो अनि कालिकोट भनेपछि झन् विशेष सोधपुछ र निगरानी हुन्थ्यो।
कुन होटलमा बस्ने, कति दिन बस्ने, सबै खुलाउनु पर्थ्यो। सदरमुकाममा गस्तीमा आउने सुरक्षाकर्मीको हम्कीधम्की धेरै खानु पर्थ्यो। २०६२/६३ को जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते लोकतन्त्र स्थापना भएर विस्तृत शान्ति सम्झौता भएपछि जनजीवन सामान्य बनी गाउँमा काम गर्न सहज भयो।
जाजरकोटबाट त्यसबेलाका सुगम ठाउँहरू सुर्खेत, बाँके जिल्लामा सरुवाको लागि धेरै प्रयास गरे, मेरो पहुँच पावर नभएकोले सहजै सरुवा भएन लोक सेवामा नाम निकाल्नुभन्दा सरुवा हुनु फलामको चिउरा चपाउनु सरह रहेछ। चाकडी, चाप्लुसी र खुरापाती गर्न सिक्नु पर्ने संस्कार हाबि थियो जुन अहिले पनि यथावत छ।
स्वास्थ्य सेवामा स्तरवृद्धि हुने तर त्यही पदको काम गर्नुपर्ने, स्वास्थ्य क्षेत्रकै माथिल्लो तहको अध्ययन नगरेकोले र इमान्दार भएर राम्रै काम गर्दा पनि व्यक्तिगत समस्या परेको समयमा पायक पर्ने ठाउँमा काजमा पनि बस्न नपाएपछि एक किसिमको वितृष्णा र हीनताबोधले गर्दा शैक्षिक योग्यताअनुसार अधिकृतको तयारी गर्ने दृढ इच्छाशक्ति जागेर आयो।
शाखा अधिकृतको तयारी गर्न तिर लागेँ। साथीहरूको सहयोग, अग्रजहरूको मार्गदर्शन, व्यक्तिगत मेहनत, निरन्तरको प्रयास, अठोट र लगावको कारणले विभिन्न समस्या र आरोहअवरोहका बाबजुत २०७० साल भदौ १९ गते नेपाल प्रशासन सेवाको शाखा अधिकृतमा स्थायी नियुक्ति लिन सफल भएँ।
यसरी १० वर्ष पाँच महिना २२ दिन स्वास्थ्य सेवामा स्वास्थ्य चौकी सीमा, जाजरकोटमा अनवरत रुपमा कार्यरत रहेर उतारचढावमा बिताएँ। शाखा अधिकृतमा नाम निक्लेपछि उपदानमा निक्लिएँ।
(लेखक प्रमुख प्रशासकीय अधिकृत हुन्।)
सेतोपाटीबाट