१५ चैत, जनकपुरधाम । सप्तरीमा एक महिलाले बीमाको रकमका लागि श्रीमानको हत्या गरेको खुलेको छ ।
ऋण चुक्ता गर्न बीमा रकम पाउनका लागि श्रीमतीले नै श्रीमानको हत्या गरेको रहस्य खुलेको छ । सप्तरीको कञ्चनरुप नगरपालिका–३ दास टोलका ३७ वर्षीय शिवशंकर दासको हत्याको आरोपमा ३० वर्षीया श्रीमती कोशिला देवी दाससहित तीनजना पक्राउ गरेका छन् ।
इलाका प्रहरी कार्यायल कञ्चनरुपले हत्यामा संलग्न रहेको आरोपमा मृतक शिवशंकरकी पत्नी कोशिला, नतामा भाउजू पर्ने शान्ति देवी, बुहारी पर्ने हिरणदेवी दासलाई पक्राउ गरेको छ ।
त्यसक्रममा शान्तिले नै कोशिलालाई बीमा गरी श्रीमानको हत्या गर्न सुझाएकी थिइन् । शान्तिले हत्यापछि बीमाबाट रकम आउने र त्यही पैसाले ऋण चुक्ता गरेर पनि रकम बाँकी रहने सल्लाह दिएपछि कोशिला श्रीमानको हत्या गर्ने योजना बनाएकी हुन् ।
योजना अनुसार शान्तिदेवीले रकम उपलब्ध गराएपछि दुई महिनाअघि शिवशंकरको नेपाल लाइफ इन्स्योरेन्स र सिटिजन लाइफ इन्स्योरेन्समा २०÷२० लाखको बिमा गराए । ५ कात्तिकमा शान्ति देवीले शिवशंकरलाई आफ्नै घरमा बोलाएर मदिरा खुवाएर पठाएकी थिइन् । मदिराको नशामा मातेर भान्सा कोठामा सुतेका शिवशंकरलाई कोशिलाले बायाँ हातको साहिली औंलामा तार बेरेर करेन्ट लगाएको खुलेको डीएसपी रायले बताए ।
करेन्ट लगाउने बेला बुहारी हिरण देवीले टर्च बालेर सहयोग गरेकी थिइन् । मृत्यु पश्चात कोशिलाले आफ्नो पति शिवशंकरको करेन्ट लागेर मृत्यु भएको भन्दै प्रहरीलाई खबर गरेकी थिइन् । घटनाको रहस्य खुलेपछि प्रहरीले कोशिलादेवीसहित तीनै जनालाई पक्राउ गरी सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको डीएसपी रायले बताए ।