चीनबाट आयो अनुदानमा दिइएको मेडिकल सामाग्री

२७ वैशाख, काठमाण्डौ । चीनले नेपाल सरकारलाई अनुदानमा दिएको कोरोनाभाइरस परीक्षणका लागि आवश्यक मेडिकल सामग्री भरखरै काठमाडौं आइपुगेको छ । हिमालयन एयरलाइन्सका जहाजबाट ल्याइएका ती सामग्री पहिलो खेप हो । नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले आजै ट्वीट गर्दै चीनबाट टेस्टिङ किट, एन ९५ मास्क, सर्जिकल मास्क, डिस्पोजेवल कोभरअल्स, मेडिकल गगल्स नेपाल आइपुगेको जानकारी दिएकी हुन् ।
यद्यपि के कति सामान ल्याइएको हो यसबारे भने खुलाइएको छैन ।
यसअघि गत चैत १६ गते पनि चीन सरकारको सहयोगमा केही स्वास्थ्य सामग्री नेपाल ल्याइएको थियो । सिचुवान प्रान्त र चिनियाँ राजदूतावासले दुई हजार थान एन (९५ मास्क र २४ हजार थान डिस्पोजल सर्जिकल मास्क, २० हजार थान डिस्पोजल मास्क, ५०० थान प्रोटेक्टिभ गगल्स, नन कन्ट्याक्ट इफ्रारेड थर्मो्मिटर १०० थान, इयर थर्मो्मिटर १०० थान, क्लोरिन फोस्फेट ट्याब्लेट ४ सय बक्स, प्रोटेक्टिभ क्लोथिङ ५३० थान,पोर्टेवल भेन्टिलेटर १ थान दिएको थियो। सिचुवान प्रान्त र चिनियाँ राजदूतावासले १.१ टन मेडिकल सामग्री दिएको थियो । त्यसैगरी, चिनियाँ इन्जिनियरिङ कम्पनीले प्रोटेक्टिङ क्लोथिङ २०० थान, डिस्पोजल सर्जिकल मास्क २० हजार थान, प्रोटेक्टिभ गगल्स २०० सय थान,डिस्पोजल ग्लोब्स २ हजार थान दिएको थियो। यसले ०.२ टन मेडिकल सामग्री दिएको थियो । यस्तै, सिचुवान ह्वान्सी ग्रुपले २० हजार थान डिस्पोजल सर्जिकल मास्क दिएको थियो । होङ्सी सिमेन्ट कम्पनी लिमिटेडले एक हजार थान प्रोटेक्टिभ क्लोथिङ र टेष्टिङ किट ३ हजार थान दिएको थियो । यसैगरी, ज्याक मा फाउन्डेसनले अलिबाबा फाउन्डेसनका संस्थापक ज्याक माले एक लाख बढी एन(९५ मास्क, २० हजार ६४ वटा टेष्टिङ किट दिएका थिए ।