लिओनल मेसीले आफ्नो करियरको ८ सयौं गोल पूरा

१० चैत, काठमाडौं । लिओनल मेसीले आफ्नो करियरको ८ सयौं गोल पूरा गर्दा विश्व विजेता अर्जेन्टिनाले शुक्रबार बिहान मैत्रीपूर्ण खेलमा पानमालाई २–० ले पराजित गरेको छ ।

गत डिसेम्बरमा कतारमा भएको विश्वकप उपाधि जितेपछि अर्जेन्टिनाले खेलेको यो पहिलो खेल हो ।

घरेलु मैदान ब्युनर्स आयर्समा भएको खेलमा अर्जेन्टिनाका लागि मेसी र युवा खेलाडी थिएगो अल्मडाले गोल गरे । अल्माडाले ७८औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । मेसीले ८९औं मिनेटमा फ्रिकिकबाट गोल गर्दै अर्जेन्टिनाको जित पक्का गरेका थिए ।

अर्जेन्टिनाको राष्ट्रिय टिमका लागि मेसीको यो ९९औं गोल हो । उनले क्लब लेभलमा कूल ७०१ गोल गरेका छन् । उनले बार्सिलोनाका लागि ६७२ र पेरिस सेन्ट जर्मेनका लागि २९ गोल गरेका छन् । अर्जेन्टिनाका लागि एक सय गोल पूरा गर्नबाट मेसी एक गोलले टाढा छन् । अर्जेन्टिनाले अर्को खेल आउने मंगलबार कुराकाओसँग खेल्नेछ ।

मेसी करियरमा ८०० गोल पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् । पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले ८३० गोल गरेका छन् ।