रासायनिक मलमा अनुदान कटौती गर्ने सरकारको निर्णयको जनमत पार्टीले विरोध

काठमाडौं । रासायनिक मलमा अनुदान कटौती गर्ने सरकारको निर्णयको जनमत पार्टीले पनि विरोध जनाएको छ । मलमा अनुदान कटौती गरेको निर्णयको विरोध गर्दै जनमत पार्टीका अध्यक्ष डा सीके राउतले बुधवार राति विज्ञप्ति जारी गरेका छन् ।

उनले मलमा अनुदान बढाउन, पर्याप्त मल खाद खरिद गर्न र समयमै मल खादको सुलभ उपलब्धता सुनिश्चित गर्न विज्ञप्तिमार्फत माग गरेका छन् ।

‘सरकारले जनताको हितमा काम गर्नु पर्ने र उत्पादनमुखी काममा बजेट बढाउनु पर्नेमा उल्टा मलको समग्र अनुदान ११.८ प्रतिशतले घटाउने निर्णय गर्नु सरकारले गरिब किसानहरूको बेवास्ता गरेको देखिन्छ’, विज्ञप्तिमा भनिएको छ ।

सरकारले रासायनिक मलमा दिइँदै आएको ७०.८२५ अनुदान कटौती गरी ५९.०४५ बनाएको छ । अब किसानले प्रतिकिलो युरियामा रू ११, डिएपीमा रू ७ र पोटासमा रू ९ थप मूल्य भार बेहोर्नु पर्नेछ ।