प्रहरीमाथि जाईलाग्ने चारजना चिनियाँ नागरिकलाई अभद्र व्यवहारको मुद्दा चलाउने तयारी

२७ वैशाख, काठमाण्र्डौ । हिजो सिंहदरबार अगाडी शुक्रवार देश फिर्तीको माग गर्दै प्रदर्शन गर्ने क्रममा प्रहरीमाथि हातपात गर्ने चार चिनियाँ नागरिकलाई प्रहरीले अभद्र व्यवहारको मुद्दा चलाउने भएको छ ।
सिंहदरबार अगाडिबाट पक्राउ परेका ४७ जना मध्ये ४३ जनालाई शुक्रबार राति नै छोडिएको महानगरीय प्रहरी परिसर, काठमाडौंकाले बताएको छ । प्रहरीमाथि हातपात गरेको भएकाले चार जनामाथि अभद्र व्यवहारको मुद्दा चलाउने तयारी गरेका बताइएको छ । निषेधित क्षेत्रमा धर्ना बसेका उनीहरूलाई प्रहरीले हटाउन खोज्दा दुई पक्षबिच झडप भएको थियो ।
झडपमा महानगरीय प्रहरी वृत्त सिंहदरबारका डिएसपी हरि बस्नेतको टाउकोमा चोट लागेको थियो । अन्य केही प्रहरी तथा चिनियाँ नागरिक समेत सामान्य घाइते भएका थिए । झडपका क्रममा चिनियाँ नागरिकले नेपाली प्रहरीको बर्दी तान्नुका साथै मुक्का र लात्ती प्रहार गरेका थिए ।
ती चिनियाँ नागरिकहरू तीन देखि छ महिना अघिनै काम गर्न नेपाल आएका थिए ।
लकडाउन भएपछि यतै रोकिएका उनीहरूले केही समययता आफ्नो देश फर्किन पाउनुपर्ने भन्दै विभिन्न ठाँउमा धर्ना बस्ने गरेका छन् । यसअघि पनि उनीहरू नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप अगाडि धर्ना दिन गएका थिए ।