छिमेकीले भूमि हडेपेर डोजर चलाएको टुलुटुलु हेरेर बस्नु सरकारको लाचार प्रवृत्ति

साझा पार्टी

२७ वैशाख, काठमाण्र्डौ । भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतस्थित मानसरोवर जाने सडक मार्गको उद्घटन गरेकोमा साझा पार्टीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । धेरै ठाउँमा नेपालको सीमा अतिक्रमण गरेको भारतले ६ महिना पहिले नयाँ नक्सा जारी गरी नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो दावी गरेकोमा अहिले थप हस्तक्षेप गर्दै सो सडक मार्ग निर्माण गरेको छ । त्यसको साझा पार्टी कडा भत्सर्ना गर्दछ’, पार्टीका सहप्रवक्ता शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
भारत सरकारको लगातारका यस्ता कदम अन्तराष्ट्रिय कानुन विपरीत रहेको भन्दै सो पार्टीले भनेको छ, ‘नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथिको ठाडो हस्तक्षेप भएको साझा पार्टीले दोहोर्याउँदै आएको छ । त्यो स्पष्टतः भारतले बारम्बार देखाउँदै आएको हेपाहा प्रवृत्तिको अर्को नमूना हो ।
भारतले गरेको सीमा अतिक्रमण र नयाँ नक्सामा नेपाली भूमि समेटिएको विषय सुल्झाउन नेपालका तर्फबाट भारत सरकारसँग परिणाममुखी कुटनीतिक संवाद हुन नसक्नु दुखद् भएको पनि सो पार्टीले जनाएको छ ।

आफ्नो भूभागमा छिमेकी मुलुकले सडक निर्माण गरेर उद्घघाटन गर्दासम्म नेपाल सरकार बेखवर हुनु अत्यन्तै विडम्वनापूर्ण स्थिति रहेको पनि साझा पार्टीले टिप्पणी गरेको छ ।
भारतले पछिल्लो समय जारी गरेको नयाँ नक्सा सच्याउँदै नेपाली भूमिमा सडक निर्माण गरेकोमा क्षमायाचना गर्नुपपर्ने सो पार्टीले जनाएको छ ।