उपराष्ट्रपतिमा जनमत पार्टीबाट ममता झाले उम्मेदवारी गठबन्धनको साझा नै हुन्

अध्यक्ष डा. सीके राउत

२७ फागुन, काठमाडौं । उपराष्ट्रपति पदमा जनमत पार्टीले पनि उम्मेदवारी दिएको छ । आज संसद भवन बानेश्वरमा उम्मेदवारी दर्ता पछि पत्रकारसँग प्रतिक्रिया दिदै पार्टीका अध्यक्ष डा. सीके राउतले सत्तारुढ गठबन्धनकै निर्णयअनुसार आफ्नो पार्टीले उम्मेदवारी दिएको बताएका छन् ।

शनिबार जनमत पार्टीको तर्फबाट उपराष्ट्रपतिमा ममता झाले उम्मेदवारी दर्ता गरेकी छन् । सो क्रममा संघीय संसद भवनमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष राउतले गठबन्धनभित्र उपराष्ट्रपतिका लागि ३ जनाको उम्मेदवारी दर्ता गर्ने र साझा उम्मेदवार बनाउनका लागि छलफल जारी राख्ने समझदारी भएको बताए ।

‘गठबन्धनकै निर्णय अनुसार तीनवटा उम्मेदवार मनोनयन गर्ने र पछिसम्म छलफल जारी राख्ने भन्ने कुरा आएको छ’ उनले भने, ‘‘गठबन्धनमा कुरा मिल्नसक्छ । भोलिसम्म समय छ । मलाई पूरा विश्वास छ हाम्रो साझा उम्मेदवार हुनुहुन्छ, ममताजीकै पक्षमा निर्णय हुनेछ ।’