क्षणिक राजनीतिक खेलमा सामेल नहुने

केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीप्रति नयाँ पुस्तालाई आकर्षित गराउनुपर्ने बताएका छन् ।

एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेपाल खेलकुद महासङ्घका नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ ग्रहण समारोहलाई आज सम्बोधन गर्दै उनले नयाँ पुस्तालाई खेलमा आकर्षित गरेर पार्टीमा ल्याउनुपर्ने बताए ।

‘खेलमार्फत नयाँ पुस्तालाई नजिक ल्याउँछौँ । नजिक ल्याएपछि कार्यकर्ता हुन्छन्। अध्यक्ष ओलीले आफू क्षणिक राजनीतिक खेलमा सामेल नहुने तर्क गरे ।

उनले एमाले देश बनाएर अगाडि बढ्ने र छोटो दौडमा नभई म्याराथुनमा कुद्ने बताए । अध्यक्ष ओलीले खेलाडीलाई खेलाडीमात्र नभई समाज परिवर्तनको योद्धासमेत रहेको स्मरण गराए ।

अध्यक्ष ओलीले मानिस गलत संगतमा नपरोस् भन्नका लागि सही सङ्गततिर ल्याउनका लागि राजनीतिमा सहभागी गराउनुपर्ने बताए । उनले खेलाडीलाई अहङ्कार आफूभित्र प्रवेश गर्न नदिन पनि शालीन र विनम्र हुनुपर्ने बताए ।

उनले देखिने गरी खेल क्षेत्रको विकास गर्न र राजनीतिलाई पनि सही बाटोमा डोर्याउने काममा महासङ्घले गर्नुपर्ने बताए ।

उनले आफ्नो गन्तव्य ‘समृद्ध नेपाल र सुखी नेपाली’ रहेको बताए ।