राष्ट्रपतिको निर्वाचनको मौन अवधि आज राति १२ बजेदेखि सुरु : दुबै उम्मेदवारले अन्तिम मत मागे

२२ फागुन, काठमाडौं । राष्ट्रपतिको निर्वाचनको मौन अवधि आज (सोमबार) राति १२ बजेदेखि सुरु हुँदैछ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालका अनुसार मतदानको दिन फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म उम्मेदवारले प्रचारप्रसार गर्न पाउँदैनन् ।

मौन अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न निषेध गरिएको छ ।

मौन अवधि सुरु हुनुअघि कांग्रेसका राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल आफूलाई समर्थन गरेका दलका नेताहरुसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कार्यालयमा पुगे । अध्यक्ष राजेन्द्र लिङ्देनसहित राप्रपाका नेताहरुलाई भेटेर उनले मत मागे ।

अर्का उम्मेदवार एमालेका सुवास नेम्वाङले पनि मौन समय सुरु हुनुअघि कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर आफ्नो पक्षमा मत मागेका छन् । भेटमा नेम्वाङले दुबै संविधानसभामा सभाध्यक्ष भएर काम गरिसकेको आफूलाई सघाउन आग्रह गरेका थिए । देउवाले भने कांग्रेसको आफ्नै उम्मेदवार रहेकोस्मरण गराए ।

दुबै उम्मेदवारले सबै मतदाता (संघीय र प्रदेशका सांसदहरु)लाई पत्र लेखेर मत मागेका थिए । संघीय संसदमा रहेका सबै दलका शीर्ष नेताहरुलाई भेटेर सहयोग मागेका छन् ।

संघीय संसदमा रहेका १२ मध्ये ८ दल पौडेलको प्रस्तावक÷समर्थक नै बसेका छन् । कांग्रेसका उम्मेदवार पौडेललाई माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, जनमत, लोकतान्त्रिक समाजवादी, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाको समर्थन छ । पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतलाई भेटेर आफूलाई मत दिन आग्रह गरेका छन् ।

त्यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाएर राष्ट्रपति निर्वाचनमा पौडेलको पक्षमा भोट मागेका थिए ।

एमाले नेताहरुले पनि संघीय संसदमा भएका सबै दलका नेताहरुलाई भेटेर नेम्वाङलाई मत मागेका छन् ।