भारतले जा भन्छ, नेपालले रोक भन्छ, अब हामी कता जाने ?

२६ वैशाख, बुटवल । भारतसंग सीमा जोडिएका रुपन्देही र कपिलवस्तुका विभिन्न नाकामा झण्डै २५ सय जना नेपाली अलपत्र परेका छन् । भारतका विभिन्न शहरमा रोजगारी गरेर स्वदेश फर्कने क्रममा लकडाउनमा परेर भारतीय क्वारेन्टाइनमा २४ दिन बसेका उनीहरू अझै स्वदेश फर्कन पाएका छैनन् ।
रुपन्देहीको बेलहिया नाका हुँदै नेपालका विभिन्न जिल्ला आउनुपर्ने एक हजार तीन सय बढी नेपाली नौतनवामा रोकिएका छन् । उनीहरुमध्ये धेरैजसोले नौतनवाको क्वारेन्टाइनमा २४ दिनको बसाई पूरा गरेका छन् ।
यस्तै कपिलवस्तुका मर्यादपुर, चाकरचौडा, कृष्णनगर र हर्दौना लगायतका नाकामा स्वदेश फर्कनुपर्ने झण्डै एक हजार नेपाली चार दिनदेखि अलपत्र परेका छन् । कपिलवस्तुको सीमा क्षेत्रमा अलपत्र परेकाहरु भारतीय भूमिमा टेन्टमुनि असुरक्षित तरिकाले रात गुजारिरहेका छन् । कतिपय भने लुकिछिपी नेपाल भित्रिरहेका छन् ।
‘भारतीय पक्षले करिब तेह्र सय जना नेपाली नौतनवाको क्वारेन्टाइनमा छन् र उनीहरु सुनौली हुँदै नेपाल जानेहरु हुन् भनेको छ’–रुपन्देही प्रहरी प्रमुख एसपी हेमकुमार थापाले भने, ‘आज मात्रै ७५ जना सुनौली आइपुगेका थिए, उनीहरुलाई पुनः नौतनवाको क्वारेन्टाइनमा पठाएका छौं ।
भारतीय पक्षले क्वारेन्टाइन बसाई पूरा गरेका नेपालीहरुलाई स्वदेश जान दवाब दिएको र आफूहरुलाई घर फर्कन वातावरण बनाइदिन हारगुहार गरेको बेलहियाका समाजसेवी लुम्बिनी खुकुरी क्लबका अध्यक्ष रामबहादुर बस्नेतले बताए ।
नेपालीहरु घर फर्कन चाहेका र समस्यामा परेका गुनासो आएका छन् तर दुबै देशका सरकार तहबाट निर्णय नभएसम्म आफूहरुले नेपाल प्रवेश गर्न दिन नमिल्ने प्रहरी प्रमुख थापाले बताए । लुकिछिपी नेपाल फर्कन खोजेर सीमासम्म आउने नेपालीलाई भारतीय प्रहरीसंग समन्वय गरी पुनः क्वारेन्टाइनमा पठाउनुबाहेक अरु विकल्प आफूहरुसंग नभएको एसपी थापाले स्वीकारे ।
कपिलवस्तुका प्रहरी प्रमुख दीपशमशेर जबराले अलपत्र नेपालीले भारतीय पक्षले घर जान दवाव दिएकाले सीमा क्षेत्रसम्म आइपुगेको गुनासो प्रहरीसंग गरेको तर आफूहरुले रोकेको बताए । ‘घर फर्कन चाहने नेपालीहरु सीमामा अलपत्र परेको सत्य हो’ जबराले भने, ‘तर सरकारले निर्णय नगरेसम्म हामीले दयामाया मानेर आउन दिने कुरा भएन । प्रहरीले नेपालीलाई सीमा क्षेत्रमै रोकेको दाबी गरे पनि दैनिक तीनचार सयको संख्यामा नेपालीहरु रातारात खुला सीमाको फाइदा उठाउँदै जिल्ला प्रवेश गर्ने गरेका तौलिहवाका पत्रकार दीलिप यादव बताउँछन् ।
भारतका क्वारेन्टाइनमा रहेका नेपालीहरुलाई विभिन्न स्थानमा भारतीय पक्षले ‘हामी पाल्न सक्दैनौं,आफ्नो देश जाऊ’ भनेर दुर्व्यवहार समेत गर्न थालेका छन् ।
शुक्रबार प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरुले समेत सरकारको ध्यानाकर्षण गराउँदै आफ्ना नागरिकलाई सुरक्षित तरिकाले स्वदेश आउने वातावरण बनाउन माग गरेका छन् ।