आफूलाई बेवास्ता गरेर कसैले मुलुक चलाउन नसक्ने

अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

सुर्खेत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूलाई बेवास्ता गरेर कसैले मुलुक चलाउन नसक्ने दावी गरेका छन् । सोमबार बिहामन सुर्खेत विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले आएर आफूहरुको महत्व बल्ल बुझेको समेत उनले बताए । अध्यक्ष नेपालले भने, ‘आज बिहानमात्रै प्रधानमन्त्रीजीसँग भेट भयो । उहाँ भन्दै हुनुहुन्थ्यो तपाईंलाई पहिले नै सरकारमा सहभागी गराउन चाहेको थिएँ । हो पनि हामीलाई कसैले बेवास्ता गरेर यो मुलुक चलाउँछु भन्ने ठान्छ भने त्यो समयमै सचेत भएर चलोस् । हामीलाई कसैले पनि माइनस, मिनिमाइज गर्न
सक्दैन ।’

अध्यक्ष नेपालले राष्ट्रपति निर्वाचनका लागि गरिएको आठ दलीय गठबन्धन आगामी निर्वाचनसम्म जाने दावी गरे । उनले भने, ‘आँट भएका, विचार भएका दलहरू एक ठाउँमा छौँ । यो गठबन्धन टिक्छ, चुनावसम्म नै जान्छ । अझै भन्नु हुन्छ भने राजनीतिको कोर्स नै चेन्ज गरिदिने हो ।’

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नै राष्ट्रपतिमा विजयी हुने उनले विश्वास व्यक्त गरे । अध्यक्ष नेपालले भने, ‘रामचन्द्र पौडेलजीलाई राष्ट्रपति उम्मेदवार खडा गरेका छौँ । उहाँ नै मुलुकको तेस्रो राष्ट्रपति बन्नुहुन्छ ।’