नेकपा एमालेले सचिवालय बैठक बोलायो

१५ फागुन, काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । परराष्ट्रमन्त्री विमला राई पौड्याललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेनेभा जानबाट रोकेपछि एमालेले सचिवालय बैठक बोलाएको हो ।

बैठक बिहान ११ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल हुने छ ।

केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बस्ने बैठकमा परराष्ट्रमन्त्रीलाई जेनेभा जानबाट रोक लगाएकोदेखि सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा समेत छलफल हुने छ । एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सरकारमा रहने कि नरहने भन्ने विषयमा पनि बैठकमा छलफल हुनसक्ने बताइन् ।

नेकपा एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ । उनको प्रतिस्पर्धा आठ दलीय गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका रामचन्द्र पौडेलसँग हुनेछ ।

एमालेको समर्थनमा गत पुस १० गते प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष प्रचण्डले कांग्रेससहितको आठ दलीय गठबन्धन बनाएपछि एमाले उनीसँग रुष्ट छ । सोही आठ दलीय गठबन्धनले कांग्रेसका पौडेललाई राष्ट्रपतिको साझा उम्मेदवार बनाएको हो । त्यसलगत्तै एमालेमा सरकारबाट हट्ने कि नहट्ने भन्ने भइरहेको छ ।