लिओनल मेसीले क्लब करियरको ७००औं गोल पूरा गरे

१५ फागुन, काठमाडौं । लिओनल मेसीले क्लब करियरको ७००औं गोल पूरा गरेका छन् ।

हिजो राति फ्रेन्च लि वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले दोस्रो स्थानको मार्सेलाई ३(० ले पराजित गर्दा मेसीले उक्त पूरा गरेका हुन्।

पीएसजीका लागि किलिएन एमबाप्पेले दुई गोल गरे । एमबाप्पेले २५औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । मेसीले २९औं मिनेटमा अग्रता दोब्बर पारे । एमबाप्पेले ५५औं मिनेटमा व्यक्तिगत दोस्रो तथा पीएसजीका लागि तेस्रो गोल गरे ।

एमबाप्पेले पीएसजीका लागि सर्वाधिक २०० गोल गर्ने डिनसन कभानीको कीर्तिमान पनि बराबरी गरे ।

यस जितपछि पीएसजीले मार्समाथि ८ अंकको अग्रता समेत बनाएको छ ।

मेसी क्रिस्टियानो रोनाल्डोपछि क्लब करियरमा ७०० गोल पूरा गर्ने खेलाडी बने ।

मेसीले पीएसजीका लागि २८औं गोल गर्दै उक्त उपलब्धि हासिल गरेका हुन् । उनले २०२१ मा फ्रेन्च क्लब जानुअघि बार्सिलोनाका लागि ७७८ खेलमा ६७२ गोल गरेका थिए ।

३५ वर्षीय मेसीले बार्सिलोनामा ३५ उपाधि जितेका थिए भने कीर्तिमानी ७ पटक बालोन डे ओर अवार्डसमेत जितेका छन् ।