Breaking News

क्रिकेटर सन्दीप लामिछानेलाई थुनामा राख्ने कि धरौटीमा छाड्ने भन्नबारे सुनुवाई हुँदै

१४ फागुन, काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पाटन उच्च अदालतले २० लाख धरौटीमा रिहा गरेपछि त्यसउपर उनलाई थुनामा राख्न भनि परेको रिटमा आज सर्वोच्व अदालतमा सुनुवाई हुँदैछ । आजको सुनुवाईमा उनलाई थुनामा राख्ने कि धरौटीमा छाड्ने भन्नबारे हुँदैछ ।

आजको सुनुवाइ उच्च अदालत पाटनले लामिछानेलाई २० लाख धरौटीमा छाड्न गरेको आदेश ठिक थियो कि थिएन भन्नेमा केन्द्रित हुनेछ । सर्वोच्च अदालतले उच्च अदालतको आदेश सदर गरेमा मात्रै ‘आफूलाई विदेश जान अनुमती दिनुपर्ने’ भनी लामिछानेले पेश गरेको निवेदनमा प्रवेश गरी बहस हुनेछ ।

सर्वोच्च अदालतले जिल्ला अदालतको आदेश सदर गरेमा लामिछाने थुनामा बस्नुपर्नेछ भने साधारण तारिखमा छाड्ने आदेश गरेमा उनले विदेश जान अनुमती माग्नुपर्ने छैन ।

लामिछानेमाथि नाबालिक किशोरीमाथि बलात्कार गरेको आरोप छ । उनी विरुद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधिन छ ।
आज दुई जना न्यायाधीश रहने संयुक्त इजलासमा दुवै निवेदनमाथि सुनुवाइ हुनेछ ।