नेपालमा नयाँ राष्ट्रपतिको लागि भारतीय बुद्धिजीवी एसडी मुनीले चार जनाको नाम ट्वीयट

८ फागुन, काठमाडौं । नेपालमा नयाँ राष्ट्रपतिको लागि कसरत भइरहेको बेला भारतीय बुद्धिजीवी एसडी मुनीले नेपालमा राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति खोज्नुपर्ने माग जायज भएको बताएका छन् ।
मुनीले राष्ट्रपतिका लागि योग्य भनेर चार जनाको नामसमेत उल्लेख गरेका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘नेपालमा सर्वसम्मतीबाट नयाँ राष्ट्रपतिको माग जायज छ ।’ राष्ट्रपतिका लागि योग्य भनेर मुनीले देवेन्द्रराज पाण्डे, प्राध्यापक बराल (लोकराज), दमननाथ ढुंगाना र अनुराधा कोइरालाको नामसमेत लिएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति उम्मेदवारमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएका छन् ।

सत्ता साझेदार दल नेकपा एमालेले भने प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा राष्ट्रपति एमालेलाई दिने सहमति भएको भन्दै आफूले पाउनुपर्ने अडान राख्दै आएको छ । यही असमझदारी बीच सत्ता गठबन्धन संकटमा परेको छ ।

एमालेसँग असमझदारी बढिरहेको बेला प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँग सम्वाद अघि बढाएका छन् ।

हालकी राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिंदै छ । त्यसअघि फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । त्यसका लागि फागुन १३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ ।