Breaking News

अरुण कुमार चौधरी आज रिहा हुँदै

धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका निलम्बित प्रतिनिधि सभा सदस्य अरुण कुमार चौधरी आज रिहा हुँदै छन् ।

चौधरी कैलाली कारागारबाट हुन लागेका हुन् । उनीसहित कैलालीबाट चार जना रिहा हुने भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५ जना कैदीको सजाय माफी गरिदिएकी छन् । सोही सूचीमा कैलाली कारागारमा रहेका चार जनाको नाम समावेश रहेको छ ।

जिल्ला कारागारमा रहेका सात जनालाई सजाय माफीका लागि आग्रह गरिएको भए पनि चार जनाको मात्रै सजाय माफी भएको छ ।

थरुहट आन्दोलनताका बन्दको अवज्ञा गरिएको भन्दै २०६६ भदौ ३ मा ट्याक्टर जलाएको घटनामा २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीन जना विरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । छ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई १९ गते प्रहरीले पक्राउ गरेको थियो ।