आज स्वाब संकलन गरिएको सांसदहरुले आजको संसद बैठकमा भाग लिन नपाउने

२६ वैशाख, काठमाडौं । कोरोना संक्रमण परीक्षणका लागि शुक्रबार स्वाब संकलन गरिएका सांसदले अहिले केहीछिनमा ४ बजे हुने बैठकमा सहभागी हुन नपाउने छैनन् ।
संसद सचिवालयले शुक्रबार स्वाब संकलन गरिएका सांसदलाई बैठकमा नआउन जानकारी गराएको छ । शुक्रबार संसदको बैठकअघि नै उनीहरुको रिपोर्ट आउने सम्भावना कम रहेकाले उनीहरुलाई बैठकमा नआउन जानकारी गराइएको सचिवालय स्रोतले जनाएको छ ।
शुक्रबार प्रतिनिधिसभाका ५३ र राष्ट्रियसभाका १० जना सांसदले कोरोना परीक्षणका लागि स्वाब दिएका छन् । उनीहरुको बिहान पौने १२ बजेसम्म स्वाब संकलन गरी टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ ।
संघीय संसदले कोरोना संक्रमण नभएको रिपोर्ट देखाएपछि मात्र संसद बैठकमा सहभागी हुन पाउने निर्णय गरेको छ । बिहीबार स्वाब संकलन गरिएका २१२ सांसद र संसद सचिवालयका कर्मचारीसमेत गरी ४ सय ४० जनामा भने कोरोना संक्रमण नभएको पुष्टि भइसकेको छ ।