सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिने असन्तम दिन विश्वासको मत नलिए पदमुक्त हुने

२६ माघ, काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिने असन्तम दिन यसैको तयारी हुँदैछ । तर नागरिक उन्मुक्ति पार्टी ले विश्वासको मत नदिने भनेकाले उनी संकटमा छन् ।

नाउपाले विश्वासको मत नदिए रावल मुख्यमन्त्रीबाट पदमुक्त हुनेछन् । त्यसपछि सबैभन्दा ठूलो दलको हैसियतले नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्नेछ ।

विश्वासको मत लिनका लागि बिहीबार दिउँसो १ बजे सुदूरपश्चिम प्रदेश सभाको बैठक बोलाइएको छ ।

नाउपाले टीकापुर काण्डमा दोषी ठहर भई जेलमा रहेका नेता रेशम चौधरीलगायतका नेताहरुलाई रिहा नगरेसम्म रावललाई विश्वासको मत नदिने अडान लिएको छ ।

नाउपाले साथ नदिए मुख्यमन्त्री रावलले विश्वासको मतका लागि आवश्यक बहुमत संख्या २७ पुर्‍याउन नसक्ने भएकाले उनी संकटमा छन् ।

सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसका १९, माओवादीका ११, एमालेका १०, नाउपाका ७, एकीकृत समाजवादीका ५ र राप्रपाका १ जना सांसद छन् ।

मुख्यमन्त्री रावलले बहुमत पुर्‍याउन सक्ने स्थिति नभएपछि बुधबारको सुदूरपश्चिम प्रदेश सभाको बैठक बिहीबारसम्मका लागि स्थगित गरिएको थियो ।

एमाले नेता रावल गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । संविधानको धारा १६८ (४०) अनुसार उनले विश्वासको मत लिने बिहीबार (आज) अन्तिम दिन हो ।

संविधानमा मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था छ । यदि आज रावलले विश्वासको मत नपाए सुदूरपश्चिम प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई सरकारको नेतृत्व गर्ने बाटो खुल्ने छ ।