नेपाली गर्ल’ नामक एपमार्फत अनधिकृतरुपमा व्यक्तिको बैंक खातासम्म पहुँच राखेर रकम चोर्ने कार्यमा संलग्न ८ जना पक्राउ

ललितपुर । ‘नेपाली गर्ल’ नामक एपमार्फत अनधिकृतरुपमा व्यक्तिको बैंक खातासम्म पहुँच राखेर रकम चोर्ने कार्यमा संलग्न ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले ८ जनालाई पक्राउ गरेको हो ।

ललितपुरको सातदोबाटो बस्ने हरि प्रसाद ढकालको नाममा रहेको एनआईसी एसिया बैंकको खाताबाट गत मंसिर २५ गते रकम चोरी भएको छ । बैंकका रहेको खाताबाट संचालन गरेको मोबाइल वैंकिङ च्यानल ह्याक गरी २५ गते बेलुका ७ देखि २६ गते बिहान १ बजे सम्म रकम निकालिएको उजुरी प्रहरीमा परेको थियो ।

सो रकम विभिन्न व्यक्तिहरुको नाममा रहेको ईसेवा र खल्ती वालेटमा रकम ट्रान्सफर गरी ठगिएको भन्ने ब्यहोराको उजुरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धान गर्दै जाँदा अभियुक्तहरूले संगठित रुपमा विद्युतीय माध्यमको प्रयोगबाट अनधिकृत रुपमा खाताको रकम निकाली हिनामिना गर्ने गरेको पाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।

उनीहरुलाई मकवानपुर र काठमाडौँ जिल्लाबाट पक्राउ गरेर उच्च अदालत पाटनबाट वैंकिङ कसुर मुद्दामा म्याद थप गरी थप अनुसन्धान उनले बताए ।

पक्राउ पर्नेमा भारतीय नागरिक अवधेश कुमारसहित सप्तरीका दिलिप कुमार चौधरी, पर्साका नगेन्द्र साह कानु, रौतहटकी रविना चौधरी, बाराका सन्तोष कुँवर, पर्साका साहिल परबेज, राजु पटेल र शिवशंकर राउत रहेका छन् ।

उनीहरुको साथबाट विभिन्न कम्पनीको मोबाईल थान, ल्यापटप र एटीएम कार्ड बरामद भएको छ ।

उनीहरुले नेपाली गर्ल एपको सामाजिक सञ्जालमार्फत आकर्षक विज्ञापन गराउने र त्यहाँ क्लिक गरेपछि टाढा चोरी गरेर सिस्टम ह्याक गरी ठगी गर्ने गरेको पाइएको अनुसन्धानबाट खुलेको छ ।