मिस नेपाल-२०२३ को आवेदन खुला

काठमाडौं । मिस नेपाल-२०२३ को आवेदन खुला भएको छ । द हिडन ट्रेजरले बिहीबार पत्रकार सम्मेलन गरी मिस नेपालको नयाँ संस्करणको घोषणा गरेको हो । इच्छुक प्रतियोगीले चैत १ गतेसम्म आवेदन दिन सक्नेछन् । जेठ १३ गते ललितपुर गोदावरीको सनराइज कन्भेन्सन सेन्टरमा ग्राण्ड फिनाले आयोजना हुनेछ ।

यस वर्ष ५ फिट ३ इन्च उचाइ तथा १८ देखि २७ वर्ष उमेरसम्मका अविवाहित नेपाली युवतीले निःशुल्क आवेदन दिन सक्ने भएका छन् । यस वर्ष पनि मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेसनलका विजेता चुनिनेछन्

सातै प्रदेशमा अडिसन हुने र त्यहाँका प्रतिस्पर्धीलाई समेट्ने तयारी समेत छ । काठमाडौंको अडिसन मार्च १८ मा हुने भएको छ । इटहरी, वीरगञ्ज, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढी लगायत क्षेत्रीय अडिसनहरु मार्च १५ सम्म सम्पन्न हुने भएका छन् । जसको स्थान र मिति पछि सार्वजनिक गर्ने जनाइएको छ ।

पोखरामा मिस नेपालको रिक्रिएसनल कार्यक्रम आयोजना गरिने भएको छ । पहिलोपटक मिस नेपालले औपचारिक रुपमा काठमाडौंबाहिर यस्तो कार्यक्रम गर्न लागेको हो । ‘यसलाई हामीले निकट भविष्यमै उपत्यकाबाहिर ग्राण्ड फिनाले गर्न सकिने योजनाको रुपमा हेरेका छौं । सोहीअनुसार पोखरामा रिक्रिएसनल कार्यक्रम गर्न लागेका हौ,ं’ हिडन ट्रेजरका निर्देशक प्रमोद कंसाकारले भने ।

गत वर्ष झण्डै ७०० जनाले आवेदन दिएका थिए । यस वर्ष विभिन्न कार्यक्रममार्फत सहभागीको संख्या बढाउने हिडन ट्रेजरको योजना छ । पत्रकार सम्मेलनमा मिस नेपालको आधिकारिक मोबाइल एप समेत सार्वजनिक गरियो । सोही एपमार्फत इच्छुकले आवेदन दिन सक्नेछन् भने दर्शकले फिनालेको टिकट खरिद गर्न सक्नेछन् ।

पत्रकार सम्मेलनमा हिडन ट्रेजर अध्यक्ष दिवाकर राजकर्णिकारले मिस नेपाललाई बृहत र समावेशी बनाउन प्रयत्न हुने बताए । सो अवसरमा मिस नेपाल वर्ल्ड प्रियंकारानी जोशी, मिस नेपाल अर्थ सरिशा श्रेष्ठ र मिस नेपाल इन्टरनेसनल न्यान्सी खड्काले अनुभव बाँडे । सरिशा र न्यान्सीले अन्तर्राष्ट्रिय ब्युटी पेजेन्टबारे अनुभव सुनाए । मिस वर्ल्ड भने आगामी मेमा आयोजना हुँदैछ । कार्यक्रममा मिस नेपाल प्रियंकाले मिस वर्ल्डको ब्युटी विथ पर्पसको भिडियो टिजर प्रस्तुत गरिन् ।

यसपटक मिस नेपालको टाइटल स्पोन्सरमा डाबर बाटिका रहेको छ । मिडिया पार्टनरमा अनलाइनखबर डटकम समेत छ । पर्यटन बोर्डले समेत यसपटक पर्यटन पार्टनरको रुपमा सहकार्य गरेको छ । यसपटक पनि कोरियोग्राफरको रुपमा रचना गुरुङ शर्मा रहेकी छन् ।

अनलाइनखबर