केपी ओली कप फुटबल प्रतियोगिता फागुन ११ देखि १७ गते देखि संचालनमा विजेताले १० लाख रुपैयाँ पुरस्कार पाउने

१३ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाममा हुने राष्ट्रिय स्तरको गोल्डकप फुटबल प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ नगद पुरस्कार पाउने भएको छ ।

केपी ओली कप फुटबल प्रतियोगिता आयोजक एमालेको भातृ संगठन युवा संघ नेपालले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन ११ देखि १७ गतेसम्म काठमाडौंमा हुने घोषणा गरेको हो ।

आयोजकका अनुसार प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेता टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख तथा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदीयमान खेलाडीलाई समान ५०/५० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

आयोजकले प्रत्येक खेलको विजेता टोलीलाई २५ हजार तथा हरेक खेलको म्यान अफ द म्याचलाई १५ हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने बताएको हो ।

प्रतियोगितामा सहभागिताका लागि माघ १७ गतेभित्र टिम दर्ता गर्नु पर्ने संघले जानकारी दिएको छ ।

व्यावसायिक फुटबलको प्रवर्द्धनमा केही योगदान गर्नु र यसका माध्यमबाट आम नागरिक, संघ संस्था तथा राजनीतिक दलहरुलाई समेत प्रेरित गर्नका लागि आफूहरुले केपी ओली कप फुटबल प्रतियोगिता आयोजना गर्न लागेका युवा संघले जनाएको छ ।