भारतले न्युजिल्यान्डविरुद्धको तीन खेलको एकदिवसीय (ओडीआई) सिरिज क्लिन स्वीप

कप्तान रोहित शर्मा र शुभमन गिलको शतकमा भारतले न्युजिल्यान्डविरुद्धको तीन खेलको एकदिवसीय (ओडीआई) सिरिज क्लिन स्वीप गरेको छ।

यस घिनै च्याम्पियन बनिसकेको भारतले तेस्रो तथा अन्तिम खेलमा न्युजिल्यान्डलाई ९० रनले हराउँदै आइसिसी वरियताको शीर्षस्थानमा उक्लिएको छ। भारतले न्युजिल्यान्डलाई पछि पार्दै विश्व ओडिआई वरियतामा शीर्ष स्थानमा उक्लिएको हो।

जितको लागि ३ सय ८६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४१.२ ओभरमा २ सय ९५ रनमा अल आउट भयो।

उसका लागि ओपनर डेभन कन्वेले शतकीय इनिङ खेले पनि टोलीको हार टार्न सकेनन्। उनले १ सय बलमा १२ चौका र ८ छक्कासहित १ सय ३८ रनको सानदार इनिङ्स खेले।

पहिलो ओभरको दोस्रो बलमै ओपनर फिन एलेन डक आउट भए पनि दोस्रो विकेटका लागि कन्वे र हेनरी निकोलसले १ सय ६ रनको शतकीय साझेदारी गरेका थिए। हेनरी ४२ रनमा आउट भए। त्यसपछि डर्याल मिचेलले कन्वेसँग ६६ रनको साझेदारी गरेपछि २५ ओभरमा पाहुना टोली १८४-२ को बलियो अवस्थामा थियो।

तर त्यसपछि शार्दुल ठाकुरले मिचेललाई २४ रनमा आउट गराए। लगत्तै कप्तान टम लाथम गोल्डेन डक आउट भए। त्यसपछि भने न्युजिल्याण्डले लगातार विकेट गुमायो। ग्लेन फिलिप्स ५, माइकल ब्रेसवेल २६ र मिचेल सान्टनार ३४ रनमा आउट हुँदा जितका लागि पर्याप्त भएन।

भारतका लागि शार्दुल ठाकुर र कुलदीप यादवले तीन-तीन विकेट लिए । युजभेन्द्र चहल दुई, हार्दिक पान्ड्या र उमरान मलिकले एक एक विकेट हात पारे।

त्यसअघि इन्डोरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ८५ रन बनाएको थियो।

भारतका लागि कप्तान रोहित शर्मा र शुभमन गिलले पहिलो विकेटका लागि २६.१ ओभरमा दुई सय १२ रनको सानदार दोहोरो सतकीय साझेदारी गर्दै विशाल योगफलसम्म पुर्‍याएका थिए।

गिलले ७८ बलमा १३ चौका र ५ छक्कासहित १ सय १२ रनको सानदार शतकीय इनिङ खेले। उनले न्युजिल्यान्डविरुद्ध पहिलो ओडिआई खेलमा २ सय ८ रनको सानदार दोहोरो शतकीय इनिङ खेलेका थिए।

यस्तै कप्तान रोहित शर्माले ८५ बलमा ९ चौका र ६ छक्कासहित १ सय १ रन बनाए। रोहितको यो ३० औं ओडिआई शतक हो।

यस्तै हार्दिक पान्ड्याले ३८ बलमा ३ चौका र ३ छक्कासहित ५४ रन जोडे। २७ बल खेलेका विराट कोहलीले ३ चौका र १ छक्कासहित ३६ रन बनाए। शार्दुल ठाकुर २५, ईशान किशन १७, सूर्यकुमार यादव १४ र वासिन्टन सुन्दर ९ रनमा आउट भए।

न्युजिल्यान्डका ज्याकुफ डफी र ब्लेयर टिकनरले ३-३ विकेट लिए। मिचेल ब्राकवेलले १ विकेट हात पारे।

पहिलो खेलमा भारत १२ रनले वजयी हुँदा दोस्रो खेल ८ विकेटले जितेको थियो।

भारत र न्युजिल्यान्डबीच अब तीन खेलको  टी- २० आई सिरिज हुनेछ।

पहिलो टी- २० खेल आगामी शुक्रबार राँचीमा हुनेछ।