ल्होछारको अवसरमा देश–विदेशमा रहने सम्पूर्ण ल्होछारप्रेमी दिदीबहिनी, दाजुभाइ सबैलाई सुस्वास्थ्य, समृद्धि, प्रगति र समस्त मानव जगत्को कल्याणका लागि हार्दिक शुभकामना

तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजातिको राष्ट्रिय ल्होछार पर्वको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा ऐतिहासिक एवं वैज्ञानिक महत्व बोकेको थुप्रै पर्व रहेको बताएका छन् । यहाँ बसोबास गर्ने सबै जाति(जातजातिको आ–आफ्नो भिन्न–भिन्न परम्परा, रीतिरिवाज र संस्कृति रहेको बताए।

“सबै संस्कृतिहरूको समग्रता र एकीकृत स्वरुप नै नेपालको राष्ट्रिय संस्कृति हो । यसरी हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक हुनु नै नेपाल र नेपालीका लागि गौरवको कुरा हो, यो हाम्रो राष्ट्रिय सम्पत्तिसमेत हो”, उनले भने ।

नेपाली जनताले नेपालमा सात दशक लामो लोकतन्त्रका लागि आन्दोलन गरेपछि धर्मनिरपेक्ष, समानुपातिक समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेको उनको भनाइ छ । यसका लागि तामाङ घेदुङ र तामाङ राष्ट्रिय आन्दोलनले खेलेको भूमिकाको उच्च मूल्याङ्कन र प्रशंसा गर्न चाहन्छु”, उनले भने ।

प्रधानमन्त्री दाहालले ल्होछारको अवसरमा देश–विदेशमा रहने सम्पूर्ण ल्होछारप्रेमी दिदीबहिनी, दाजुभाइ सबैलाई सुस्वास्थ्य, समृद्धि, प्रगति र समस्त मानव जगत्को कल्याणका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

नेपाल पूर्व, पश्चिम, उत्तर, दक्षिणका प्रमुख सभ्यताहरूको सङ्गमस्थल भएको भन्दै उनले नेपालमा एक सय २५ जातजाति, एक सय २३ भाषाभाषी र १० भन्दा बढी धर्म मान्ने समुदाय बसोबास गर्ने बताए ।

“नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होछार परम्परा र तामाङ संस्कृति हो । ल्होछार परम्परा विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा हो । मानव जातिले पशुपालन र कृषिको सुरुआत गरेदेखि नै प्रकृतिको स्वभाव र गतिको नियम पत्ता लगाउने प्रयत्न गरेको थियो । यो क्रममा चन्द्रमाको गतिको आधारमा समय गणना हुन थाल्यो”, प्रधानमन्त्रीद्वारा जारी शुभकामनामा भनिएको छ ।