पदम गिरी स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्दा पर्वतकै नियति बदलियो

३ माघ, पर्वत । दोस्रोपटक सांसद जितेका पदम गिरी स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्दा पर्वतकै नियति बदलिएको छ । भौगोलिक अवस्थिति र शैक्षिक दृष्टिले अन्य धेरै जिल्ला भन्दा अगाडि भएपनि पर्वतबाट अहिलेसम्म कोही पनि संघीय सरकारको विभागीय मन्त्री बनेका थिएनन् ।

राणाशासन अन्त्यपछि बनेको सरकारहरूमा राज्य र सहायक मन्त्री भने ६ जना भइसकेका छन् । पञ्चायत सुरु भएको पाँच वर्षपछि २०२२ सालमा गणेशबहादुर गुरुङ राज्यमन्त्री भएका थिए । अहिले मोदी गाउँपालिकामा पर्ने देउराली लाङ्दीका गुरुङपछि त्यही ठाउँका पूर्व भारतीय सेना लालसिंह गुरुङ सहायक मन्त्री भए ।

२०३१ सालमा हालको जलजला–४, मल्लाज माझफाँटका डम्मरबहादुर मल्ल राष्ट्रिय पञ्चायत सदस्य भए । दोस्रो कार्यकाल पनि चुनाव जितेपछि उनी २०३९ सालमा यातायात राज्यमन्त्री भए । २०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्य जितेका क्षेत्रबहादुर गुरुङ यातायात सहायक मन्त्री बने ।

२०४६ सालमा बहुदल आएपछि पनि पर्वतबाट कोहीपनि मन्त्री बन्न सकेनन् । पर्वतको दक्षिणी क्षेत्र हालको महाशिला–४, पाखापानी धुँवाकोटका देबहादुर पौडेल क्षेत्री २०५४ सालमा स्थानीय विकास सहायक मन्त्री भए । फलेबास–६ का डिल्लीराज शर्मा ०५६ को चुनावपछि सहायक मन्त्री बने ।

२०५६ सालको चुनावपछि फलेवास–६ देवीस्थानकै डिल्लीराज पौडेल भूमिसुधार सहायक मन्त्री भए । त्यसको १५ वर्षपछि पदम गिरीलाई एमालेले स्वास्थ्य जस्तो महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दियो, जुन अवसरले मन्त्री नबन्ने पर्वतको नियति बदलेको छ ।