कोरोना महामारीले भयावह रुप लिनसक्छ सबैलाई सजग हुन आह्वान

प्रधानमन्त्री

२५ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बुद्ध जयन्तिको अवसरमा शुभकमना दिंदै नेपालमा कोरोना संक्रमण भयावह हुन सक्ने लक्षण देखिएको बताएका छन् । महामारीले भयावह रुप लिन सक्ने भन्दै उनले सबैलाई सजग हुन पनि आह्वान गरेका छन् ।
सरकारले सुरुदेखि नै चालेका प्रभावकारी कदमहरुका कारण अहिलेसम्म नेपालमा स्थिति भयावह भइसकेको त छैन । तर, भयावह हुनसक्ने लक्षणहरु छन्,’ आज प्रधानमन्त्रीले एक सन्देश जारी गर्दै, ‘यदि आफ्नो सतर्कता, आफ्नो तयारी र रोकथाममा हामी सबैको सम्झदारीपूर्ण ऐक्यबद्धता भएन भने यस महामारी ले भयावह रुप लिन सक्दछ । त्यसकारण हामी सजग हुनु जरुरी छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार नेपालमा हाल ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रधानमन्त्री ओलीले कोरोना संक्रमितहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । कोरोना भाइरसले दुनियाँलाई एउटा नयाँ भयावह त्रासदीको स्थितिमा र्पुयाएको उल्लेख गर्दै उनले कोरोनाबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धासुपन अर्पण गरेका छन् ।
प्रधानमन्त्रीले रोल्पामा बम विष्फोटमा ज्यान गुमाएका बालबालिका र कोरोना संक्रमणबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धासुमन अर्पण गर्न तथा घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।
प्रधानमन्त्री ओलीले शान्तिको कामना गर्न र कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु, स्वयंसेवीहरु, सहयोगीहरुप्रति ऐक्यबद्धता जनाउन आ–आफ्ना संस्था, घर र निवासहरुमा साँझ ७ बजे दीप प्रज्वलन गर्न अनुरोध समेत गरेका छन् ।