कर्णाली प्रदेशमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति

२७ पुस, सुर्खेत । कर्णाली प्रदेशमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएको छ ।

एमाले पार्टी कार्यालय वीरेन्द्रनगरमा बिहानैदेखि छलफलमा जुटेका नेकपा माओवादी केन्द्र र एमालेका नेताहरुबीच यस्तो सहमति भएको हो ।

प्रदेश सरकारको नेतृत्व पाँचै वर्ष नेकपा माओवादी केन्द्रलाई दिने शीर्ष नेतृत्वले निर्णय गरे पनि प्रदेशमा त्यसलाई उल्ट्याइएको छ ।

‘केन्द्रकै निर्णय अनुसार अघि बढ्न धेरै प्रयास गर्‍यौं । तर मान्दै नमानेपछि आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेका छौं,’ माओवादीका एक नेताले अनलाइनखबरसँग कुरा गर्दै भने ।

सहमति पछि पहिलो कार्यकालमा नेकपा माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता राजकुमार शर्मा मुख्यमन्त्री बन्ने छन् र उनले आजै दाबी पेश गर्दै छन् ।

देश प्रमुख तिलक परियारले सरकार गठनका लागि आज ५ बजे भित्र दावी पेश गर्ने समय दिएका छन् ।