मलाई तनाव छ, तिमीहरू साराले गाली गर्न स्थायी कमिटी बैठक बोलाएका हौ

प्रधानमन्त्री ,केपी शर्मा ओली

२४ बैशाख, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल
(प्रचण्ड) र वरिष्ठ नेता माधवकुमार नेपालनिकट स्थायी समिति सदस्यहरूले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली बैठकबाट भाग्न खोजेको आरोप लगाएका छन् ।
बैशाख २५ गते ११ बजेका लागि तय भइसकेको बैठक स्थगित हुनुको कारण प्रधानमन्त्री ओली नै रहेको उनीहरूको ठहर छ । वरिष्ठ नेता नेपालनिकट स्थायी समिति सदस्य वेदुराम भुषालले प्रधानमन्त्री डराएकै कारण बैठक स्थगित गरिएको बताए ।
’उहाँ (प्रधानमन्त्री ओली) बैठकको सामना गर्नुपर्छ भनेर डराएकै त होला नि ? अरू त के हुन्छ र बैठकबाट भागेर कति दिन भाग्ने हो, कहाँ जाने हो,’ भुषालले भने, ’बैठकबाट भाग्ने भनेको त पार्टीबाट भाग्ने हो उहाँले मात्रै हो बैठक सारेको, किनकि उहाँ आफैं सचिवालय बैठक छाडेर हिँड्नुभएको हो । बैठकको अध्यक्षता गरेकै व्यक्ति हिँडेपछि अरूलाई केही भन्ने ठाउँ नरहेको समेत उनले बताए ।
बैठक चलाउन नसक्ने, सचिवालय बैठक छाडेर हिँड्ने, अनि स्थायी समिति बैठक बोलाउन नमान्ने भनेको त बोलाउन नचाहेको भन्दा पनि बैठक चलाउन नसकेको भन्ने हुन्छ । ’प्रधानमन्त्रीको यो गतिविधिले नकरात्मक सन्देश गएको छ ।
प्रचण्डनिकट स्थायी समिति सदस्य मातृका यादवले पनि प्रधानमन्त्रीले बैठकको सामना गर्न नचाहेको आरोप लगाए । पार्टी एकता सुदृढ गर्न र अहिले जनतामा उठेका सवालको जवाफ दिन पनि बैठक अनिवार्य थियो । त्यसले समग्र पार्टी र सरकारलाई फाइदा हुन्थ्यो,’ यादवले भने, ’यसले राम्रो गरेको छैन पार्टी र सरकार सबैका लागि ठीक भएन । बैठक सारेर समस्या समाधान हुँदैन । बैठकमा स्पष्ट पार्नुपर्थ्यो, त्यो भएन ।
आफूले बुझेअनुसार प्रधानमन्त्रीकै चाहनाले गडबढ भएको र स्थायी समिति बैठक समेत सारेको उनले बताए । प्रधानमन्त्री सचिवालय बैठकमै नबसेको उनको भनाइ छ ।
वरिष्ठ नेता नेपालनिकट अर्का स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले बैठकको विकल्प बैठक मात्रै भएको बताए ।
’बैठक त डाक्नै र्पयो नि । बैठक भोलि सर्ला, तर पर्सि भए पनि राख्नर्पयो । बैठक पनि सारेर हुन्छ,’ उनले भने,’बैठक बस्नैपर्छ, त्यसको उपाय नै छैन । किनभने बैठकको कुरा बैठकले नै समाधान गर्छ । बैठक किन सारिएको भनेर आफूलाई थाहा नभए पनि प्रधानमन्त्रीले तनाव भएको कुरा देखाएर सारेको जानकारी आफूले पाएको यादवले बताए ।
’मलाई तनाव छ, तिमीहरू साराले गाली गर्न बैठक बोलाएका हौ भनेर प्रधानमन्त्रीका भनाइ सचिवालयका सदस्यहरूले भनेको सुनेको हो मैले,’ उनले भने, ’गाली गरे पनि, प्रशंसा गरे पनि सुन्नै र्पयो । कि त पदमा बस्नै भएन । पदमा बसेपछि गाली पनि आउँछ, ताली पनि आउँछ ।
प्रचण्डनिकट स्थायी समिति सदस्य हरिबोल गजुरेलले भने पार्टीमा सल्लाह नपुगेको भन्दै प्रधानमन्त्री ओलीले बैठक सारेको जानकारी आफूले पाएको बताए ।
’उहाँले दुइतीन दिनपछि राखौं भन्नुभयो अरे । उहाँले अहिले सल्लाह पनि पुग्या छैन भनेको मैले थाहा पाएँ,’ उनले भने, ’बैठक किन सारियो भन्ने कुरा हामीले भन्नै पर्दैन, सबैलाई थाहा छ ।
प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डलाई ’तपाईंसँग पनि कुरा बाँकी छ, त्यही भएर बैठक सारौं’ भनेको जानकारी आफूले पाएको समेत उनले बताए ।
’बैठक त राख्नुपर्छ । सायद बैठकमा गर्नुपर्ने सामना पछाडि धकेल्न खोज्नुभएको होला,’ उनले भने, ’पार्टीभित्र संघर्ष जारी छ । अवतरण भइसकेको छैन । मिल्नुपर्छ, सच्याउन पर्छ भने पनि यो मूर्त रूपमा आउन सकेको छैन । कसरी ल्याउने भनेर उहाँले सोच्नुभएको होला ।
प्रधानमन्त्री ओलीनिकट स्थायी समित सदस्य रघुवीर महासेठले भने स्थायी समिति बैठकको तयारी नपुगेको बताए ।

’तयारी नपुगेरै बैठक स्थगित गरिएको हो । निकट भविष्यमै हुन्छ होला,’ उनले दावी गरे, ’प्रधानमन्त्रीले सार्न खोज्नुभएको होइन, तयारी नपुगेको हो । दुई अध्यक्षमा जति पर्याप्त छलफल हुनुपर्थ्यो त्यो छलफल हुन नसकेर हो ।