होटल रेष्टुरेन्ट टाट पल्टेपछि घरभाडा र कर्मचारीको तलब दिन कठिन

२४ बैशाख, काठमाडौं । कोरोना भाइरसले देश लकडाउनमा रहेको ४४ दिन भयो । यस अवधिमा होटल, रेस्टुरेन्टहरू डेढ महिनादेखि बन्द छन् । यसैपनि लकडाउनको एक महिना अघिबाटै नेपालमा यो व्यवसायमा मन्दी छाएको थियो । अहिले आम्दानी शून्य हुँदा अन्य व्यवसायीलाई जस्तै रेस्टुरेन्ट सञ्चालकलाई पनि कर्मचारीको तलब, घरभाडा, बिजुली र पानीको न्यूनतम खर्च लगायतले पिरोलेको छ ।
रेस्टुरेन्ट एन्ड बार एसोसियसन अफ नेपाल (रेबान)का अनुसार देशभर ३३ सय वटा ठूला लगानीका रेस्टुरेन्ट छन् । ती रेस्टुरेन्टमा काम गर्ने करिब ६६ हजार कर्मचारी अहिले कामविहीन भएका छन् ।
तलब र घरभाडाको समस्या
सामान्य अवस्थामा देशभर रेस्टुरेन्टहरूमा दैनिक ८ करोडभन्दा बढी कारोबार हुन्थ्यो । जुन अहिले शून्यमा झरेको छ । कतिपय रेस्टुरेन्टले पछि बोलाउने भन्दै कर्मचारीलाई बेतलबी बिदा दिएका छन् । ठूला रेस्टुरेन्टहरूलाई भने कर्मचारी हटाइहाल्न समस्या परेको छ । ‘सरकारले कर्मचारीको ५० प्रतिशत तलब तुरुन्त दिनू भनेको छ,’ रेबानका अनुसार ‘आम्दानी शून्य भएका बेला कसरी दिने भन्ने तनाव छ ।
घरभाडा तिर्न नगद प्रवाहको समस्या पनि हुन थालेको छ । रेबानका अनुसार बन्द अवस्थामा पनि गर्नुपर्ने खर्चको जोहो गर्न सकस भएको छ । सहरमा ठूलो खाली क्षेत्र र भवनहरू भाडामा लिएर रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्ने गरिएकाले भाडा बापतको रकम धेरै हुन्छ ।
सरकारले समयमै उचित सम्बोधन नगरे धेरै रेष्टुरेन्ट व्यवसायी पलायन हुने अवस्था आएको आउन सक्छ ।
लगानी जोखिममा
पछिल्लो तीन वर्षमा रेस्टुरेन्ट व्यवसायमा ठूलो लगानी भित्रिएको थियो । यो व्यवसायमा १० अर्बभन्दा बढी लगानी भएको अनुमान छ । पछिल्लो समय रेस्टुरेन्ट जाने, खाने, रमाइलो गर्ने संस्कृति मौलाइरहेको थियो । रेस्टुरेन्ट व्यवसायको लगानीलाई अरू भन्दा सुरक्षित र प्रतिफलमुखी मानिएको थियो । तर, एकाएक आएको कोरोना संकटले यो व्यवसायलाई थला पारिदिएको छ ।
रेबान अध्यक्ष राजभण्डारीका अनुसार, पुराना र स्थापित चेन रेस्टुरेन्टहरू अहिले नै धेरै समस्यामा परिसकेका छैनन् । भर्खरै स्थापित भएर लगानी उठाउन नपाएका व्यवसायीहरू भने ठूलो सकसमा छन् । सरकारले राहतको उचित प्याकेज नल्याए यस्ता व्यावसायीहरू टाट पल्टने अवस्था आएको राजभण्डारी बताउँछन् ।
अहिले प्रायः विदेशबाट फर्केका युवाले रेस्टुरेन्ट व्यवसायमा हात हाल्ने गरेका छन् । विदेशमा कमाएको पुँजी लगाएकाले यो व्यवसायमा बैङ्क ऋणको भार भने ठूलो नभएको अध्यक्ष राजभण्डारी बताउँछन् ।
लकडाउन लम्बिँदै जाँदा समस्या बढ्दै गएर मालिक–मजदुर श्रम सम्बन्ध पनि बिग्रने डर पैदा भएको छ । यो अवस्थामा सरकारले बजेटमार्फत संरक्षणको कार्यक्रम ल्याउनुपर्ने होटल रेष्टुरेन्ट व्यवसायीले बताएका छन् । सकिन्छ भने सामाजिक दुरी, स्वास्थ्य सतर्कताको कुरा हुन्छ, त्यसैले पहिले जसरी रेस्टुरेन्ट गएर खाने क्रम बढ्न समय लाग्छ ।