सचिवालय बैठक बस्नु अघि प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच छलफल

२४ बैशाख, काठमाडौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकअघि अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठकका एजेण्डा र स्थायी कमिटी बैठकमा पेश गर्ने प्रस्तावका सन्दर्भमा उनीहरुबीच छलफल भएको बताइएको हो ।
नेकपा सचिवालय बैठक आज अपरान्ह ३ बजे बस्दैछ । सो बैठकमा प्रचण्ड र महासचिव विष्णु पौडेलले सहमतिको दस्तावेज तयार पारेर ल्याउने भनिए पनि दुई अध्यक्षबीचमै कुरा नमिलेकाले प्रस्ताव लेखन नै अघि नबढेको स्रोतले जनाएको छ । दुवै अध्यक्षबीच सोमवार भएको छलफलमा मंसिर ४ गतेको निर्णयमा फर्किने र सरकार तथा पार्टी काममा एक–एकजना अध्यक्ष पूर्ण रुपमा संलग्न रहने सहमति भएको थियो । तर त्यसको मोडालिटीबारे सहमति नभएको र माधव नेपाल पक्षलाई समेत मिलाउनुपर्ने भन्दै प्रचण्ड दुवै पक्षसँग परामर्शमा छन् ।